मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

‘चुनावले केपी ओली केही होइन भन्ने नेताहरुको लोकप्रियता जाँच्छ

|आफू निकटका सांसद भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री। तस्वीरः प्रधानमन्त्री सचिवालय|

प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुने चुनावले केपी ओली केही होइन भन्ने नेताहरुको लोकप्रियता जाँच्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा विघटन गरेका ओलीले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रतिनिधि सभा विघटन हेर्दा अप्रत्यासितजस्तो देखिए पनि यो लामो समयदेखिको समस्याका कारण भएकोसमेत बताएका ओलीले भनेका छन्, ‘पार्टीले बहुमत ल्याउनु र लोकप्रिय हुनुमा केपी ओलीको कुनै योगदान छैन, हामी नै निर्णायक हौं भन्ने नेताहरुलाई निर्वाचन घोषणाले लोकप्रियता जाँच्ने मौका दिएको छ ।’ यसैगरी ओलीले प्रधानमन्त्री हुन ब्यग्र प्रतिक्षामा रहेका नेताहरुलाई यसले सहयोग गर्नेसमेत बताएका छन् ।

तीन दलको एउटै स्वर–संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकमा सहभागी तीनओटै दलले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेका छन् । बैठकमा सहभागी नेपाली कांग्रेस, नेकपाका प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका हुन् ।

सोमबार साँझ बसेको तीन दलका नेताहरूको बैठकले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै तीनवटै दलका केन्द्रीय कमिटी बैठकबाट संघर्षका कार्यक्रम तय गरी विरोधमा उत्रिन साझा धारणा बनाएका छन् ।

थप कार्यक्रमका लागि आ–आफ्नो पार्टीको केन्द्रीय कमिटीबाट निर्णय गर्न एकमत भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। आजको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी भएका थिए।

सोमबार थपिए ७४२ कोरोना संक्रमित, १,०७९ जना निको हुँदा थप ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९सोमबार० एक हजार ७९ जना संक्रमित निको हुँदा थप ७ जनाको मृत्यु भएको छ । आज सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ । पछिल्लो अपडेटसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । संक्रमितमध्ये २ लाख ४४ हजार ७४३ संक्रमित निको भइसकेका छन् भने मृतक संख्या १ हजार ७९५ पुगेको छ ।

पार्टी फुटको घोषणा मात्रै बाँकी रहेका कुनै पनि भेलामा जान्न : वामदेव

बामदेव गौतम। फाइल फोटो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको घोषणा मात्रै बाँकी रहेका कुनै पनि भेलामा नजाने बताएका छन् । गौतमले आफू अझै एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताउँदै यस्ता गुटगत भेलामा नजाने बताएका हुन् ।

गौतमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केपी ओलीले गरेको भेला होस् वा अरुले गरेको भेला नै किन नहोस् ती सबै पार्टी फुटाउनका निम्ति भइरहेकाले आफू फुटको साक्षी बस्न नसक्ने बताएका छन् । गौतमले आफू दुई कम्युनिष्ट पार्टी एकीकरण गराउने मध्येको नेता भएको उल्लेख गर्दै अहिले पनि एकताको पक्षमा रहेको बताउ्रँदै संसद भंगको गैर संवैधानिक कदमको विरोध गरिरहने बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा सांसदहरुद्वारा हस्ताक्षर संकलन

|हस्ताक्षर संकलन गर्दै असन्तुष्ट सांसदहरु। तस्वीरः|

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा नेताहरुले हस्ताक्षर संकलन गरेका छन् । असन्तुष्ट सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु सहभागी छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका छन् ।

आन्दोलन चर्किन सक्ने सुरक्षा विश्लेषण, ‘हाइ अलर्ट’मा ४ वटै सुरक्षा निकाय

फाइल फोटो

प्रतिनीधिसभा विघटनसँगै आन्दोलन चर्किने सुरक्षा निकायले विश्लेषण गरेका छन् । आन्दोलनको मुख्य केन्द्रबिन्दु काठमाडौं हुने विश्लेषणसहित सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पनि सबै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायको उपस्थिति थियो ।

४ वटै सुरक्षा निकाय ‘हाइ अलर्ट’मा रहदै देशभरि सतर्कता बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति निवास आसापास, विभिन्न राजनीतिक दलका कार्यालय आसपास, शीर्ष नेताका घर र माइतीघर क्षेत्र लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितीको बढाइएको छ ।

विशेषगरी प्रचण्ड(माधव नेपाल समूह र ओली समूहका मुख्य नेताको निवासमा सुरक्षा सतर्कता अपनाइएको हो । आजदेखि आन्दोलन चर्किन सक्ने सुरक्षा विश्लेषण गरिएको छ । यस्तै चारवटै सुरक्षा निकायले मातहतका कार्यालय र निकायलाई आफ्ना फौज र कर्मचारीहरूलाई बिदा नदिन र बिदामा बसेकालाई समेत हाजिर हुन निर्देशन दिएका छन् । उच्च सुरक्षा स्रोतका अनुसार गृह मन्त्रालयको आदेशबमोजिमको निर्देशन सबै सुरक्षा निकायमा पठाइसकिएको छ ।

गृहमन्त्रीमाथि राजीनामा दिनुपर्ने दबाब

|गृहमन्त्री रामबहादु थापा ‘बादल’। फाइल फोटो|

गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि मन्त्री पदबाट राजीनामा दिनुपर्ने दबाब परेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटार आउने निम्तोलाई अस्वीकार गर्दै आफ्नो पूर्वसमूहको भेलामा जुटेका बादलमाथि राजीनामाको दबाब परेको हो ।

उनीनिकटका नेताहरु पम्फा भूसाल, देव गुरुङलगायतका नेताहरुले मध्यमार्गी भएर नबस्ने बताउँदै उनलाई मन्त्री पदबाट राजीनामा दिन दबाब दिएका हुन् । ‘ओलीलाई साथ दिन सकिँदैन । यो प्रतिगामी कदम हो । संवैधानिक कू पनि हो’, गुरुङले भनेका छन्, ‘यो बीचमा बस्ने मध्यमार्गी कुरा हुँदैन । कि सत्य हुन्छ कि गलत हुन्छ बीचमा नबसौँ भनेर हामीले भन्यौँ ।’

यसअघि हिजै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । पूर्वमाओवादीका नेताद्वय बादल र लेखराज भट्टले भने राजीनामा दिएनन् । राजीनामा नदिएपछि ओलीकै कित्तामा उभिएको भनिएका बादल भने ओलीले आज बालुवाटारमा बोलाएको भेलामा गएनन् । यता भट्ट भने बालुवाटार पुगेका छन् ।

प्रिमियर लिग : टोटनह्याममाथि लेस्टरको जित
इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लेस्टर सिटीले टोटनह्यामलाई २–० गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स भार्डीले एक गोल गरेका थिए भने अर्को गोल टोटनह्यामका टोबी अल्डेरवेइरेल्डले आत्मघाती गोल गरेका थिए ।

योसँगै टोटनह्यामले प्रिमियर लिगमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । यस अघि टोटनह्याम लिभरपुलसँग पराजित भएको थियो । यो हारपछि टोटनह्याम लिगमा पाँचौ स्थानमा झरेको छ । टोटनह्यामको १४ खेलमा २५ अंक रहेको छ । त्यस्तै लेस्टर सिटी भने यो जितपछि दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको १४ खेलमा २७ अंक रहेको छ ।

यूकेमा कोरोनाको नयाँ स्वरुप, युरोपियन देशहरु लगाउन थाले यात्रा प्रतिबन्ध

यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन् । नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन् । आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन् । देश अनुसार कदमहरू केही फरक छन्। फ्रान्सेली कदमबाट युरोटनेलमार्फत्‌ हुने रेल सेवा पनि प्रभावित भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग ‘नजिकको सम्पर्कमा’ रहेको जनाएको छ । पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ । यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ । कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन ।

तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले यूकेमा लन्डनसहित दक्षिण(पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन् । यसै महिनाको शुरूतिर केही नमुनाहरू परीक्षण गर्दा यूकेमा जस्तै कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि डच सरकारले पछिल्लो कदम चालेको हो ।

प्रतिक्रिया