विवादकै बीच नेकपाको स्थायी कमिटी बैठक आज

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टीमा देखिएको विवादबारे छलफल हुने बुझिएको छ ।

शनिबार नेकपाका नेताहरुको दिनभरीको दौडधुपपछि पनि विवाद समाधान उन्मुख देखिएको छैन । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई कार्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रस्ताव फिर्ता नलिने अडान दोहोराएपछि ओलीले प्रस्ताव फिर्ता नभएसम्म आफु बैठकमा आउन नसक्ने बताएका थिए । प्रचण्डले अब स्थायी कमिटीमै छलफल गरेर अगाडी बढ्नुपर्ने जवाफ दिएको बताइएको छ ।

यस अघि पुष १ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरेपनि अहिलेसम्म अध्यादेश फिर्ता भएको छैन । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई एक पटक भेट गरेपछि मात्र अध्यादेश फिर्ता हुने बताए पनि अहिले सम्म अध्यादेश फिर्ता गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छैन ।

प्रतिक्रिया