प्रचण्डलाई भेटेपछि बादललाई भेट्न पुल्चोक पुगे ओली

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि गृहमन्त्री रामबहादर थापा ‘बादल’लाई भेट्न प्रधानमन्त्रीसमेत रहेका नेकपा अर्का अध्यक्ष केपी शर्मा ओली पुल्चोक पुगका छन् ।
बिहान पौने ११ बजेतिर खुमलटार पुगेका ओलीले दाहालसँग करिब १ घण्टा वार्ता गरेर बाहिरिएका थिए । त्यसलगत्तै ओली पुल्चोकतिर सोझिएका हुन् ।
शुरुमा दुई अध्यक्ष मात्रै वार्तामा बसेका थिए । त्यसपछिको केही समयपछि ओली–दाहालको वार्तामा उपाध्यक्ष गौतमसमेत मिसिएका थिए ।
प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले बताएअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेपछि बाहिरिएका ओली सिधै पुल्चोक गएका हुन् । नेकपाले जारी स्थायी कमिटीको अर्को बैठक भोलिका लागि डाकेको छ । बैठकको पूर्वसन्धयामा ओलीले आफ्नो दौडधुप बढाएका छन् ।
खासगरी गत ३० गते आफूअनुकूल जारी गराएका संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण नेकपा विवाद थप पेचिलो बनेको छ ।
गत १ गतेको स्थायी कमिटी बैठक आफूले अध्यादेश फिर्ता लिने बताएपछि अहिलेसम्म फिर्ती प्रक्रिया नबढ्दा दाहाल–नेपाल पक्ष सशंकित छ ।








