मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

प्रमुख समाचारका शीर्षक
– राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी
– संवैधानिक परिषद्सम्बन्धी अध्यादेश– तीन जनाको उपस्थितिमै बैठक बस्न मिल्ने
– अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्छ : प्रचण्ड
– ‘संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’
– उखु किसानको पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारको निर्देशन
– बिगबास खेल्न अस्ट्रेलिया लागे सन्दीप लामिछाने
– अमेरिकामा कोरोना विरुद्धको पहिलो खोप नर्सलाई, १० करोडलाई खोप दिने तयारी !
– काठमाडौंको तापक्रम तीन डिग्रीमा झर्‍यो
– पशुपतिमा क्षमा पूजा, भोलिदेखि दर्शन गर्न पाइने

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

फाइल तस्विर

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् ।

परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ । हाल उपसभामुख पद रिक्त छ । कारणतः सभामुख अग्नी प्रसाद सापकोटा हुनुपर्छ । तर, सभामुख सापकोटा पटक–पटकको बैठकमा अनुपस्थि रहँदै आएका थिए । सभामुख उपस्थित नभएपछि गणपूरक संख्या नपुगेर दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो ।

संवैधानिक परिषद् बैठक बस्न अध्यक्ष र अन्य ४ जना उपस्थित हुनुपर्ने व्यवस्था छ । गणपुरक संख्या पुर्याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुनसक्ने अनुमान गरिएको छ । अध्यादेश समावेश विषय सार्वजनिक भइसकेको छैन ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश– तीन जनाको उपस्थितिमै बैठक बस्न मिल्ने
अबदेखि तीन जनाको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न मिल्ने भएको छ । परिषद् अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसो संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश–२०७७ जारी गरेकी छन् । जुन राजपत्रमा समेत प्रकाशित भएको छ ।

योसँगै अब तीन जनाको उपस्थितिमा मात्रै पनि बैठक बस्न मिल्ने भएको हो । अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था छ ।

यता नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले भने अध्यादेश कुनै पनि हालतमा फिर्ता हुनुपर्ने बताएका छन् ।

अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्छ : प्रचण्ड

|नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड। फाइल फोटो|

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले मंगलबार जारी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्ने बताएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराएपछि सत्ताधारी नेताहरु नै असन्तुष्टि बनेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले यससमन्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

जारी अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको प्रचण्ड सचिवालयले टिप्पणी गरेको छ । सचिवालयले थप भनेको छ, ‘पार्टीको स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसदलाई समेत बन्धक बनाई अध्यादेश ल्याइनु गलत छ । नेपालको संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गरी ल्याइएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको छ । एकमनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिँदै ल्याइएको यस प्रकारको अध्यादेशमार्फत् मुलुक सञ्चालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलन माथि नै अपमान हुने हुँदा यो अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्दछ ।’

यसअघि नेकपा नेता जनार्दन शर्माले अध्यादेश जारी हुनुलाई स्वार्थको पराकाष्ठा भनेका छन् भने अधिकांश मन्त्रीहरुले अध्यादेश जारीबारे कुनै जानकारी नभएको बताएका छन् ।

‘संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

नेकाका सभापति शेरबहादुर देउवा। फाइल फोटो।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् ।

परिषद् अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसो संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश–२०७७ जारी गरेकी छन् । जुन राजपत्रमा समेत प्रकाशित भएको छ । उक्त अध्यादेशलाई सभापति देउवाले अलोकतान्त्रिकको संज्ञा दिएका हुन् ।

ट्वीटरमार्फत् आपत्ति जनाएका देउवाले थप लेखेका छ्न, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हाँस्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रष्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’

यस्तै अध्यादेश जारीको विषयलाई लिएर नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापालगायतले पनि आपत्ति जनाएका छन् ।

उखु किसानको पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारको निर्देशन
उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयमा मङ्गलबार बसेको बैठकले किसानलाई भुक्तानी नदिने व्यापारीलाई आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उज्यालोलाई जानकारी दिए ।

व्यापारीहरूले भुक्तानी दिनै मानेनन् भने अन्तिम विकल्पको रूपमा पक्राउसमेत गर्न सकिने निर्णय भएको प्रवक्ता बुढाको भनाइ छ ।

गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठी सहभागी भएक थिए । उखुको भुक्तानी नपाएपछि अहिले उखु किसानले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

बिगबास खेल्न अस्ट्रेलिया लागे सन्दीप लामिछाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) का लागि आज अस्ट्रेलिया प्रस्थान गरेका छन् । बीबीएल सुरु भइसक्दा काठमाडौंमा रहेका उनी मंगलबार बिहान ११ बजे अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

अस्ट्रेलिया पुगेपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्नेछन् । त्यसपछिको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएमा उनले खेल खेल्नेछन् । सन्दीप यो सिजनको बिग बास लिग होबर्ट हुरिक्यान्समा आवद्ध छन् । उनको टोलीले अहिलेसम्म खेलेका दुई खेलमा दुवै जित हात पारेको छ । सन्दीप केही समय अगाडि कोरोना संक्रमीत भएपनि केही दिनको अस्पतालमा उपचार पछि उनी निको भइसकेका छन् ।

सन्दिपलाइ पिटर ह्यान्डस्कोम्बको कप्तानी गरेको हुरिक्यान्सले यो सिजनका लागि नेपालका युवा सेन्सेसन सन्दीपलाई टिममा आवद्ध गरेको हो । सन्दीपले यसअघिका दुई संस्करण मेलबर्न स्टारबाट खेलेका थिए । जसमा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको थियो । दुई सिजनमा गरि २६ विकेट हात पारेका छन् ।

नोभेम्बरमा दुवईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप दिल्ली क्यापीटल्समा आवद्ध थिए । तर, दिल्लीले सन्दीपलाई मैदान उत्रने अवसर भने दिएन । दिल्ली गएको सिजनमा फाइनलसम्म पुग्न सफल भएको थियो । नेपाली क्रिकेट टीमका युवा स्टार लामिछाने आईसीसीको बरियतामा ८० औं स्थानमा छन् । उनी त्यसअघि ८१ औं स्थानमा थिए ।

अमेरिकामा कोरोना विरुद्धको पहिलो खोप नर्सलाई,१० करोडलाई खोप दिने तयारी !
काठमाडौं । अमेरिकामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने बृहत् अभियान थालिएसँगै त्यहाँ कोरोनाभाइरसका कारण मृत्यु हुने सङ्ख्या तीन लाख नाघेको छ । अधिकारीहरूले आउँदो एप्रिल महिनासम्म १० करोडजना मानिसलाई खोप लगाउने आशा व्यक्त गरेका छन् ।

अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्स भएकी छन् । ती नर्स सान्ड्रा लिन्ड्सेले खोप लगाउन सुरु भएको कुराले अमेरिकी इतिहासकै एकदमै पीडादायी समयको अन्त्यको थालनी भएको सङ्केत गर्ने आशा व्यक्त गरेकी छन् ।

‘अन्य कुनै खोप लगाए जस्तै भयो। खोप सुरक्षित छ भनेर आममानिसमा आत्मविश्वास होस् भन्ने म चाहन्छु । हामी महामारीका माझमा छौं र हामी सबैले आफ्नो ठाउँबाट सकेको गर्नुपर्छ,’ उनले भनिन् । उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यो वर्षको सुरुमा कोरोनाभाइरस महामारीको पहिलो लहरको केन्द्रविन्दुमा न्यूयोर्क परेको थियो । खोप कार्यक्रम न्यूयोर्कबाट सुरु भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ट्वीट गर्दै लेखेका छन्, ‘पहिलो खोप दिइयो । अमेरिकालाई बधाई१ विश्वलाई बधाई १

काठमाडौंको तापक्रम तीन डिग्रीमा झर्‍यो
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो ।

सोमबार ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम मंगलबार एक डिग्री सेल्सियसले घटेको हो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार राति आकाश खुले जमिन चिसो भएर बिहानको तापक्रम घट्ने गर्छ ।

जुम्लाको तापक्रम भने माइनस ६ मा झरेको छ । चिसो बढ्दै जाँदा देशभरको जनजीवन प्रभावित भएको छ । तराईमा भने हुस्सु लागेपछि चिसो अत्याधिक बढेको छ ।

पशुपतिमा क्षमा पूजा, भोलिदेखि दर्शन गर्न पाइने
काठमाडौँ । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न आज बिहान क्षमा पूजा हुँदैछ । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

प्रतिक्रिया