बैठक बस्नै नसक्ने अवस्थामा संवैधानिक परिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक अन्योलमा परेको छ । सभामुख अग्निप्रसाद सापकोटाले उपस्थिति जनाउन नसक्ने बताएपछि बैठक अन्योलमा परेको हो ।

विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सापकोटाले सहभागी नहुने भएका हुन् । ‘बैठकअघि हुनुपर्ने समन्वय भएन, पूर्वतयारी र गृहकार्य पनि भएन,’ सभामुखको सचिवालय स्रोतले भन्यो- ‘त्यसैले उहाँ बैठकमा नजाने हुनुभएको हो ।’

संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनीनिकट स्रोतको भनाई छ । यसअघि आइतबारका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवाले सहभागी नहुने जनाएपछि स्थगित भएको थियो ।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन । दलहरुबीच भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।

प्रतिक्रिया