मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

प्रमुख समाचारका शीर्षकहरु :
– प्रधानमन्त्रीले आह्वान गरेका संवैधानिक परिषद्को बैठक देउवाद्धारा अस्वीकार
– कांग्रेस पूर्वसांसद शाहसहित १०९ जना नेकपामा प्रवेश
– शिक्षक शिक्षिकालाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह
– कोरोना अपडेट
– सञ्चारकर्मीलाई मन्त्री गुरुङको आग्रह–‘मुलुकको आर्थिक विकासमा सहयोग गर्नुस्’
– रोकिएन राजावादी आन्दोलन, काठमाडौंमा पुनः प्रदर्शन
– विश्वकप छनोट : नेपालले यी टीमसँग खेल्दैछ दशरथ रंगशालामा फुटवल
– आज बालाचतुर्दशी, पशुपतिमा छैन शतबीज छर्ने कार्य
– बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज

प्रधानमन्त्रीले आह्वान गरेका संवैधानिक परिषद्को बैठक देउवाद्धारा अस्वीकार

|ओलीदेउवा। फाइल फोटो|

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएका संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । बैठक हुन एक दिन मात्रै बाँकी छँदा सभापति देउवाले आफ्नो प्रियपात्र रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएका हुन् ।

स्रोतले बताएअनुसार देउवाले आफूहरुको २९ गतेको प्रदर्शनलाई प्रभावित पार्नेगरी बैठक बोलाइएको हुनसक्ने ठहर गर्दै ओलीलाई यस्तो सन्देश पठाएका हुन् । ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक डाकेका छन् । देउवाले भने प्रदर्शनभन्दा अगाडि आफूले बैठकमा उपस्थिति जनाउन नसक्ने बताएका छन् ।

कानूनी व्यवस्थाअनुसार संवैधानिक परिषद्मा विपक्षी दलका नेता अनिवार्य हुनुपर्ने भनिएको छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तलगायत अन्य थुप्रै निकायहरु अहिले नेतृत्वबिहीन छन् । यसअघि नियुक्तिकै विषयमा ओलीले देउवासँग छलफल गरेका थिए । कांग्रेसले आगामी २९ गते देशव्यापी सरकार विरोधी आन्दोलन गर्ने घोषणा गरेको छ ।

कांग्रेस पूर्वसांसद शाहसहित १०९ जना नेकपामा प्रवेश

|पार्टी प्रवेश गर्दै कौसर शाहसहित अन्य। प्रवेश गराउँदै नेताद्वय दाहाल–नेपाल|

नेपाली कांग्रेसकी पूर्वसांसद कौसर शाहसहित १०९ जना सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । नेकपा मुख्यालय धुम्बराहीमा शनिबार (आज) एक कार्यक्रमबीच उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । यस्तै अध्यक्ष दाहालले कांग्रेसलाई परित्याग गरी नेकपामा प्रवेश गर्ने निर्णय गर्नु सही भएकोसमेत बताएका छन् ।

पूर्वसांसद शाह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बनेकी थिइन् । यसअघि सो कुराको जानकारी अध्यक्ष दाहालको सचिवालयले दिएको थियो ।

शिक्षक शिक्षिकालाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् ।

मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए ।

झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघीय सरकारको रु १६ लाख र प्रदेश नम्बर १ सरकारको रु छ लाख ५० हजार गरी कूल रु २२ लाख ५० हजारका लागतमा विद्यालय परिसरमा पुस्तकालय भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताए ।

कोरोना अपडेट : थप १५ जनाको मृत्युु, ८९९ जना नयाँ संक्रमित थपिए
नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएसँगै नेपालमा कूल निधन हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ८ सय ९९ जना नयाँ कोरोना संक्रमण थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

आजको सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार २ सय पुगेको छ ।

सञ्चारकर्मीलाई मन्त्री गुरुङको आग्रह–‘मुलुकको आर्थिक विकासमा सहयोग गर्नुस्’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गरेका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभालाई यहाँ आज समापन गर्दै उहाँले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशनरप्रसारण गर्न आग्रह गरेका हुन् ।

उनले नेपाली पत्रकारिता क्षेत्र उद्ययमशील बन्नुपर्ने बताउँदै मिडियामा हरेक हिसाबले लगानीकर्ता बलियो हँदै जाने र श्रमजीवी पत्रकार कमजोर हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

रोकिएन राजावादी आन्दोलन, काठमाडौंमा पुनः प्रदर्शन

|शनिबार काठमाडौंमा भएको मोटरसाइकल र्‍याली|

पछिल्लो समय राजावादी आन्दोलनहरु चकिँदै गइरहेका छन् । यसैबीच शनिबार काठमाडौंमा पनि प्रदर्शन भएको छ ।

ललितपुरमा राष्ट्रवादी देशभक्त समाजको आयोजनामा प्रदर्शन भएको हो । सातदोबाटोबाट शुरु भएको मोटरसाइकल र्याली पाटन दरबार क्षेत्र परिक्रमा गरी ललितपुर महानगरपालिका रहेको क्षेत्र पुगेर कोणसभामा परिणत भएको थियो ।

सहभागीहरुले राजसंस्था र हिन्दू राज्यको पक्ष तथा संघीयता र गणतन्त्रको विरोधमा नारा लेखिएका पम्पलेट बोकेका थिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएर राजावादी चलखेलविरुद्ध एक हुन आह्वान गरेका थिए ।
यता राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आन्दोलनलाई समर्थन गर्दै आइरहेको छ ।

खेताला खोजेर विरोध गर्न थालियो : गोकुल बाँस्कोटा

गोकुल बाँस्कोटा। फाइल फोटो

पार्टीभित्र विवाद र एक-अर्काको पक्ष(विपक्षमा विरोध चलिरहँदा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारूढ नेकपा भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको बताएका छन् ।

बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व. प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलीसभालाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेको समेत उनले दाबी गरेका छन् । आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानीमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो ।

पछिल्लो समय नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद साम्य हुन सकिरहेको छैन । दोस्रो पुस्ताका नेताहरू पार्टी विवाद मिलाउन सक्रिय रूपमा लागेपनि दुई अध्यक्षबीच तिक्तता कायमै रहँदा पार्टी फुट्न सक्ने किसिमका आँकलन समेत भइरहेको छन् ।

विश्वकप छनोट : नेपालले यी टीमसँग खेल्दैछ दशरथ रंगशालामा फुटवल
कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल सहित एसियाली देशको खेल तालिका सार्जजनिक गरेको हो ।

सन् २०२० मार्चमा हुने तय भएको खेल कोरोना भाइरस संक्रमणका कारण अक्टोबर–नोभेम्बरलाई सारिएको भएपनि स्थिति सुधार नहुँदा एएफसीले खेल स्थगित गरेको थियो । अब नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने भएको छ । छनोट अन्तर्गत ५ खेलमा १ जित र ४ हार बेहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ । अब यी तीन खेलहरु काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।

एएफसीले नेपाल र चाइनिज ताइपेइको खेल २५ मार्च २०२१ (चैत्र १२ २०७७) को लागि तोकेको छ । नेपालले ३० मार्चमा (चैत्र १७) अष्ट्रेलियासँग खेल्नेछ भने अन्तिम खेलमा नेपालले जोर्डनको सामना गर्नेछ । उक्त खेल ७ जुन २०२१ मा (२४ जेठ २०७८) हुने एएफसीले जनाएको छ ।

आज बालाचतुर्दशी, पशुपतिमा छैन शतबीज छर्ने कार्य
आज बालाचतुर्दशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकी हुँदैछ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए ।

आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गर्ने भएका छन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बाइडेनको जित अस्विकार गर्ने मुद्धा सर्वोच्चद्धारा खारेज
 अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु खारेज गरिदिएको हो ।

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्विकार गरिदिएको छ । जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो ।

अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरी अर्को धक्का दिएको छ । उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् । त्यसप्रति असन्तुष्टि जनाउदै उनले विभिन्न राज्यका अदालतहरुमा मुद्धा दायर गरेका थिए । ती अदालतहरुले पनि ट्रम्पको मागलाई अस्विकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो ।

प्रतिश्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिए लगत्तै उनले नतिजा अस्विकार गर्ने संकेत गरेका थिए । सबै अदालतहरुले उनको मागलाई अस्विकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनीसँग छैन । उनले आगमी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ ।

प्रतिक्रिया