स्थायी कमिटीले ओलीविरुद्ध निर्णय गर्ला ?

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा शुरु भएको छ । तर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । शनिबारको सचिवालयबाट सङ्कट निवारण नभएपछि दुवै अध्यक्षको प्रस्ताव आजको स्थायी कमिटीमा पेश गर्ने कार्यसूची बनेको थियो ।
केही समयको लागि पार्टीका सबै कमिटीहरुको बैठक रोक्न चाहेका ओली आजको सचिवालय बैठकमा उपस्थित नभएपछि अब पार्टीको विवाद कता घुम्ला भनेर चासोको रुपमा हेरिन थालिएको छ ।
यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमरा नेपाल पक्ष भने पेलेरै भए पनि अगाडि जाने मनसायमा छ । दाहाल–नेपाललाई केन्द्रीय सचिवालयमै पनि बहुमतको साथ छ । स्थायी कमिटीमा पनि दाहाल–नेपालकै पल्लाभारी छ । यसर्थ आजको स्थायी कमिटीम ओलीविरुद्ध निर्णय हुनसक्ने सम्भावना उच्च छ ।
एकताकै समयदेखि नै ‘एक व्यक्ति, एक पद’अवधारणा बोकेको नेता नेपाल पक्ष झनै यो मामिलामा अगाडि देखिन्छ । अध्यक्ष ओली र नेता नेपालबीच यही कुराले पनि धेरै तिक्तताहरु बढाएको छ । यसअघि नै नेपाल पक्षीय मन्त्री योगेशकुमार भट्टराईले सचिवालय बैठकले विवादबारे केही समाधान ननिकाले खण्डमा स्थायी कमिटीले नेतृत्वविरुद्धै भएपनि निर्मम निर्णय गर्ने चेतावनी दिइसकेका छन् ।
स्थायी कमिटी बैठक प्रारम्भ हुनुपूर्व मकालु खबरसँग कुराकानी गर्दै स्थायी कमिटी सदस्य पम्फा भूसालले भने सहमति गर्न सकिने बताएकी थिइन्, ‘सहमति खोज्नुपर्छ । छलफल गर्दै जानुपर्छ ।’
स्थायी कमिटीमा दाहाल–नेपालकै पल्लाभारी ?
यतिबेला नेकपाभित्र पेलेरै भएपनि अघि बढ्ने अवस्था आइसकेको छ । त्यसो त यसको लागि सर्वप्रथम बहुमत चाहिन्छ । योसँगै आजको सचिवालयमा बहुमत कसको पुग्ने वा नपुग्ने भन्ने विषयलाई पनि चासोको रुपमा हेरिएको छ ।
अन्ततः यसको असर ओलीलाई नै पर्ने निश्चितप्रायः छ । ४५ सदस्यीय स्थायी कमिटीमा अध्यक्ष दाहाल र माधवकुमार नेपाल पक्षधरको स्पष्ट बहुमत छ ।
दाहाल–नेपाल कित्ताले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमा एउटा छाड्नैपर्ने दबाब दिइरहेकाले नैतिक रुपमा अब ओलीलाई एउटा पद मात्र रोज्नुपर्ने संकट आइपरेको छ ।
नेकपाको राजनीतिसँगै पार्टीलाई विधि र पद्दतिमा लग्न तथा नेकपालाई फुटबाट जोगाउन अब ओलीसँग एउटा पद त्याग गर्नुबाहेक अरु विकल्प छैन ।
बैठक प्रारम्भको समयमा ओली शीतल निवासतिर
हिजोको सचिवालयमा सल्लाह भएअनुसार बैठक आज दिउँसो १ बजे बोलाइएको थियो । तय भएअनुसार ओली १ बजे पार्टी मुख्यालय धुम्बाराही पुग्नुपर्थ्यो । तर, उनी सोही समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको थिए ।
नेकपाको विद्यमान विवादलाई लिएर केही समयअगाडि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको बताइएको थियो । जसको लागि ओलीले राष्ट्रपति भण्डारीसँग लगातार सहकार्य गरेको भनी विश्लेषण गरिन थालिएको थियो ।
- Related News:–
नेकपामा झन् जेलियो विवादः स्थायी कमिटिले गर्ला त समाधान ?
सचिवालयमा नमिलेको नेकपा विवाद स्थायी कमिटीमा मिल्ला ?
नेकपा स्थायी कमिटी बैठक शुरु भयो, प्रधानमन्त्री उपस्थित भएनन्








