आइभिएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इन–भिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक कानुनी तथा नीतिगत छलफल थालेको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा आज आयोजित छलफलमा नेपालमा सञ्चालनमा रहेका आइभिएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड तथा नियमनका विषयमा विस्तृत समीक्षा गरिएको हो ।

छलफलमा आइभिएफ सेवाको प्रभावकारी नियमनका लागि आइभिएफ सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा आइभिएफ सेवालाई कानुनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा छलफल भएको हो ।

मन्त्री मेहताले प्रजनन स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर र नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताइन् । उनले आइभिएफ सेवामा हुनसक्ने सम्भावित अनियमितता रोक्दै सुरक्षित तथा जिम्मेवार प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

बैठकमा हाल सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुगमन प्रणाली र अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो । छलफलमा डा श्रीप्रसाद अधिकारी, डा ज्योति थापा र डा बिनिता थापाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =