सचिवालयमा नमिलेको नेकपा विवाद स्थायी कमिटीमा मिल्ला ?

काठमाडौं । शनिबारको नेकपा केन्द्रीय सचिवालयमा नमिलेको विवाद आइतबारको स्थायी कमिटीमा लगिँदैछ । सोलोडोलो प्रतिवेदनलाई स्थायी कमिटीमा नपुर्याउने ध्याउन्नमा रहेका सचिवालय सदस्यहरुले चाहेर वा नचाहेर अन्नतः प्रतिवेदन जस्ताको तस्तै स्थायी कमिटीसम्म पुर्याइदिए ।

नेकपा स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । जहाँ, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रमस: १३ मंसिर र २८ कात्तिकमा पेश गरेका प्रतिवेदन प्रस्तावका रुपमा लगिँदैछ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीको कार्यशैलीप्रति असन्तुष्ट अध्यक्ष दाहालले विभिन्न आरोपहरु लगाएर केन्द्रीय सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो प्रतिवेदनलाई ‘काउन्टर’दिनेगरी ओलीले पनि केन्द्रीय सचिवालयमै पेश गरेको ३८ पृष्ठ लामो जवाफले नेकपा विवाद थप पेचिलो बन्दै गइरहेको छ ।

हिजोको बैठकमा विवाद मिलाउनको लागि उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा कार्यदल बनाउने प्रस्तावसम्म आयो । तर, स्वयम् गौतमले नै अस्वीकार गरेपछि कार्यदल बन्न सकेन । त्यसपछि एकआपसको तिक्तताबीच नै दुवै प्रस्तावलाई स्थायी कमिटीमा लैजाने सहमति भएको थियो । जसअनुसार दुवै अध्यक्षको प्रस्ताव आजको स्थायी कमिटीमा पेश हुँदैछ ।

९ जनामा नमिलेको विवाद ४५ जनामा मिल्ला ?
करिब ३ हप्ता नेकपा सचिवालयभित्र राम्रै रस्साकस्सी चल्यो । अध्यक्षद्वय दाहाल–ओलीबीच भेटघाट नै नभएपनि उनीहरुले आ–आफ्नो नजिकका नेता तथा सांसदहरुसँगको छलफल तथा परामर्शलाई भने तीव्र नै पारिरहे । तत्पश्चात् सचिवालय बसे पनि कुनै खालको सहमति जुट्न सकेन । यो करिब १ महिनाको अवधिमा सचिवालयले गरेको काम भनेको दुई वटा प्रतिवेदन पेश मात्रै हो ।

केन्द्रीय सचिवालयभित्रै अल्पमतमा परेका ओलीले अध्यक्ष दाहाललाई साथ दिइरहेका उपाध्यक्ष बामदेव गौतमलाई फकाउनको लागि के के सम्म गरेनन् । आफैँसँग सरकारमा सामेल हुन भने, उपप्रधानमन्त्रीको हवाला दिए, आफ्नै अनुकूल आफूलाई सुझाउनसम्म भने । तर, अँह ! गौतमले टेरपुच्छर लगाएनन् । बरु बामदेवले उल्टै भनिरहे, ‘तपाईँबाट हामीलाई धेरै पटक अपमान गर्नुभएको छ, तपाईँले अब हट्नैपर्छ ।’

यी सबै घटनाहरुले झनझन पेचिलो बनेको नेकपा विवाद सचिवालयमा मिलेन । ‘त्यसो त ९ सदस्यीय सचिवालयमा नमिलेको नेकपा विवाद ४५ सदस्यीय स्थायी कमिटीमा मिल्ला ?’भन्ने मकालु खबरको जिज्ञासामा स्थायी कमिटी सदस्य पम्फा भूसालले भनेकी छन्, ‘छलफल गर्दै जानुपर्दछ, मिल्न पनि सक्छ ।’ व्यक्तिपिच्छे फरक धारणा हुँदा ९ जनाको भन्दा त ४५ जनाको धेरै हुने भयो नि त ? भन्ने विषयमा सदस्य भूसालको तर्क छ–‘मैले भनिहालेँ, अहिल्यै यसो हो भनेर भन्न सकिने स्थिति छैन । विवाद समाधान हुन पनि सक्छ ।’

ओलीको अडानः दुवै पद नत्याग्ने
प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने भनेर हिजोको सचिवालय बैठकमा भनिसकेका छन् । कारणतः ओलीले तत्काल स्थायी कमिटीको बैठक डाक्ने विषययमा असमर्थ जनाएको स्रोत बताउँछ । त्यसो त आज आजको स्याथी कमिटीको बैठकमा ओली उपस्थित हुन्छन् कि हुँदैनन् भन्नेबारे निश्चित भइसकेको छैन ।

यता अध्यक्ष दालहा पक्ष भने विवाद समाधान गर्नको लागि पूर्वनिर्धारित समयसीमाभित्रै बैठक बस्नुपर्ने दृढ अडानमै छ ।

‘तपाईँहरुले बहुमत र अल्पमतको खेल खेल्न स्थायी कमिटीमा जान खोज्नुभएको होला । तर, म दुईवटै पद छाड्दिनँ,’ प्रधानमन्त्रीलाई उदृत गर्दै स्रोत भन्छ, ‘मलाई तपाईंहरू यही दुवै पद छोडाउन खोज्दै हुनुहुन्छ होइन ? जता जे–जे गरे पनि गर्नुस् । अध्यक्ष लिने भए महाधिवेशन कुर्नुस् । प्रधानमन्त्रीका लागि अर्को चुनाव पर्खिनुस् ।’

स्थायी कमिटीमा कस्तो पल्लाभारी ?
यतिबेला नेकपाभित्र पेलेरै भएपनि अघि बढ्ने अवस्था आइसकेको छ । त्यसो त यसको लागि सर्वप्रथम बहुमत चाहिन्छ ।  योसँगै आजको सचिवालयमा बहुमत कसको पुग्ने वा नपुग्ने भन्ने विषयलाई पनि चासोको रुपमा हेरिएको छ ।

अन्ततः यसको असर ओलीलाई नै पर्ने निश्चितप्रायः छ । ४५ सदस्यीय स्थायी कमिटीमा अध्यक्ष दाहाल र माधवकुमार नेपाल पक्षधरको स्पष्ट बहुमत छ ।

दाहाल–नेपाल कित्ताले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमा एउटा छाड्नैपर्ने दबाब दिइरहेकाले नैतिक रुपमा अब ओलीलाई एउटा पद मात्र रोज्नुपर्ने संकट आइपरेको छ ।

नेकपाको राजनीतिसँगै पार्टीलाई विधि र पद्दतिमा लग्न तथा नेकपालाई फुटबाट जोगाउन अब ओलीसँग एउटा पद त्याग गर्नुबाहेक अरु विकल्प छैन ।

प्रतिक्रिया