नेकपामा झन् जेलियो विवादः स्थायी कमिटिले गर्ला त समाधान ?

काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक बस्दैछ । शनिबारको सचिवालय बैठकले पार्टीको विवाद समाधान गर्न नसकेपछि आज स्थायी समिति बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बराहीमा बस्दैछ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आजका लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने पार्टी केन्द्रीय सचिवालयले निर्णय गरेको हो । सचिवालयमा दुई अध्यक्षद्वारा प्रस्तुत अलगअलग राजनीतिक प्रतिवेदन स्थायी समितिमा बुझाउने र त्यहि बैठकबाट विवादको निरुपण गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

विवाद स्थायी कमिटि पुग्ने भएसँगै नेकपामा पछिल्लो देखिएको शक्ति संघर्षले अब कुन मोड लेला भन्ने विभिन्न अनुमान पनि गर्न थालिएका छन् । सचिवालयले शनिबार गरेको निर्णयअनुसार अब यी प्रतिवेदनमाथि चर्चा हुन थाल्दा फेरि स्थायी कमिटी बैठकमा बहुमतको विषयमा चर्चा हुने निश्चित छ ।

दुवै प्रतिवेदनमाथि छलफल हुँदा दुई खेमामा बाँडिएका नेकपा नेताहरुले एउटा प्रतिवेदनलाई अस्वीकार गर्ने छन् । वा, स्थायी कमिटीबाट दुवै प्रतिवेदनलाई मिलाएर संयुक्त प्रतिवेदन बनाउन सचिवालयलाई आग्रह गर्न सकिनेछ । त्यसका लागि नेकपामा अर्को कार्यदल बन्ने सम्भावना पनि उत्तिकै छ ।

ओलीको अडान
तर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटीको बैठक राख्ने कुरामा असहमति जनाएको स्रोतले बताएको छ । यो असहमतिसँगै आज बस्ने भनिएको स्थायी कमिटीमा उनको उपस्थिति पनि अनिश्चित भएको हो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको समस्या समाधानका लागि स्थायी कमिटीका बैठक पूर्वनिर्धारित समयमै बस्ने बताएपछि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले असहमति जनाएको स्रोतले बताएको हो । ‘तपाईँहरुले बहुमत र अल्पमतको खेल खेल्न स्थायी कमिटीमा जान खोज्नुभएको होला । तर, म दुईवटै पद छाड्दिनँ,’ प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै स्रोतले भन्यो- ‘मलाई तपाईंहरू यही दुवै पद छोडाउन खोज्दै हुनुहुन्छ होइन ? जता जे-जे गरे पनि गर्नुस् । अध्यक्ष लिने भए महाधिवेशन कुर्नुस् । प्रधानमन्त्रीका लागि अर्को चुनाव पर्खिनुस् ।’

स्थायी कमिटीमा कसको बहुमत ?
नेकपा भित्रको विवाद सचिवालयले मिलाउन नसकी स्थायी कमिटीमा प्रवेश गरेपछी सबै भन्दा असर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्ने देखिएको छ । ४५ सदस्यीय स्थायी कमिटीमा कार्यवाहक अध्यक्ष प्रचण्ड र माधबकुमार नेपाल पक्षधरको स्पष्ट बहुमत भएकाले ओली अल्पमतमा परेका छन् ।

प्रचण्ड-माधब पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमा एउटा छाड्नै पर्ने दवाव दिइरहेकाले नैतिक रुपमा अब ओलीलाई एउटा पद मात्र रोज्नु पर्ने संकट आइपरेको छ । नेकपाको राजनीतिसँगै पार्टीलाई विधि र पद्दतिमा लग्न तथा नेकपालाई फुटको राजनीतिबाट जोगाउन अब ओलीसँग एउटा पद त्याग गर्नु वाहेकको विकल्प छैन ।

प्रतिक्रिया