२५ दिनको सम्वादहीनतालाई तोडेपछि बैठकमा जुटेका अध्यक्षद्वयले जुटाउलान् सहमति ?

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अहिले नेकपा केन्द्रीय सचिवालय बैठक जारी छ । बैठकभन्दा अगाडि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष(कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान् टू वान्’ भेटवार्ता भएको थियो ।

करिब २५ दिनको अन्तरालपछि एक्लाएक्लै भेटेका दाहाल–ओलीबीच यही विषयमा छलफल भयो भन्ने कुरा बाहिर नआएपनि यसले नेकपा वृत्तमा देखिएको समस्या समाधानमा केही सहयोग पुग्ने अड्कल गरिएको छ ।

पार्टीभित्र देखिएका विभिन्न आन्तरिक समस्याका कारण गत २५ कात्तिकदेखि एक्लाएक्लै नभेटेका ओली–दाहालबीचको आजको भेटवार्ताले कस्तो प्रतिक्रिया दिन्छ भनेर चासो लिन थालिएको छ ।

विभिन्न खालका आरोप–प्रत्यारोप, पत्र युद्धलगायतका गम्भीर गतिविधि हुँदासमेत आपसमा नभेटेका ओली–दाहालबीचको आजको भेटले पार्टीभित्रको समस्यालाई समाधान गर्न सहयोग गर्नसक्ने बुझिएको छ ।

खासगरी गत २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि थप पेचिलो बनेको नेकपा आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ । अध्यक्ष दाहाललाई जवाफ दिने भन्दै ओलीले पुनः १३ मंसिरको सचिवालय बैठकमा पेश गरेको ३८ पृष्ठ लामो प्रस्तावका कारण पनि थप नेकपा भाँडिएको जिकिर अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाको थियो ।

तत्पश्चात् गत १७ गते बोलाइएको सचिवालय बैठकमा ओली अनुपस्थित भएपछि आजका लागि डाकिएको बैठक अहिले जारी छ । आजको बैठकमा दुवै अध्यक्षको प्रस्तावबाट साझा प्रस्ताव बनाउने कार्यसूची छ ।

यता नेकपाले भोेलिको लागि स्थायी कमिटी बैठक डाकेको छ । त्यसो हुँदा ओलीमाथि आजकै बैठकबाट एक खाले निष्कर्ष निकाल्नुपर्ने दबाब छ । यता नेकपाकै नेताहरुले भने प्रधानमन्त्री ओलीले आजैको बैठकबाट निकास खोज्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया