आजको नेकपा सचिवालयमा के होला ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । विगत १० महिना देखि पार्टीभित्र देखिएको आन्तरिक कलहका कारण बारम्बार बस्दै आएको शीर्ष नेताहरुको बैठक आज पनि बस्न लागेको छ ।

गत कात्तिक २८ गतेको सचिवालयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न राजनीतिक आरोप लगाउँदै प्रस्ताब दर्ता गराएपछि ओलीले पनि प्रचण्डलाई विभिन्न आरोप लगाउँदै मंसिर १३ गते अर्को प्रस्ताब दर्ता गराएका थिए ।

दुवै अध्यक्षबाट आएका राजनीतिक प्रस्ताबलाई सचिवालय हुँदै स्थायी कमिटि र केन्द्रीय कमिटिमा लैजानु पर्ने विषय घनिभूत भइरहेको अवस्थामा आज पुनः सचिवालय बस्न लागेको हो ।

मंसिर १३ गते बसेको सचिवालयमा अध्यक्ष ओलीले प्रचण्डको प्रस्ताव राजनीतिक पूर्वाग्रह र आरोपहरुको पुलिन्दा वाहेक केही नभएको तर्क गर्दै खारेज गर्न भनेका थिए । तर, सचिवालयका बहुमत सदस्यबाट आएको प्रस्ताब भएकाले फिर्ता नहुने भन्दै दुई थप छलफलका लागि मंसिर १७ गते सचिवालय डाकिएको थियो ।

गत बुधबार बसेको सचिवालय बैठकमा पनि दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची भएपनि बैठकमा अध्यक्ष ओली नआएपछि प्रतिवेदनमाथि छलफल नै हुन पाएको थिएन ।

ओली प्रति कडा हुँदै सचिवालय

नेकपाभित्र ओलीले पार्टीका सबै बैठकहरु रोक्ने रणनीति अपनाएपछि प्रचण्ड पक्षधर कडा भइरहेका छन् । सरकार सञ्चालन र पार्टी सञ्चालनमा ओलीले एकलौटी गरेको भन्दै आक्रोशित सचिवालयका बहुमत सदस्यले पार्टी भित्रको आन्तरिक विवाद हल गर्न पार्टीभित्रै घनिभूत छलफल माग गरेपनि ओली तयार छैनन् ।

सचिवालयका एक सदस्यले आजपनि ओलीकै कारण सचिवालय बस्न नसके उनका विरुद्ध देश व्यापी कार्यकर्ताहरु सडकसम्म आउन सक्ने बताए । ‘बहुमतको निर्णय नमान्ने दुनियाँमा कहिँ हुँदैन, उहाँले आजपनि बैठक टार्ने, बैठकमै नआउने तर्क गर्न थाल्नु भयो भने देशभर उहाँका विरूद्ध सडकमा नाराबाजी नलाग्ला भन्न सकिन्न ।’ प्रचण्ड पक्षका ती सचिवालय सदस्यले भने ।

पार्टीले सरकार चलाउने पद्दति भएको र पार्टीकै कारण ओली प्रधानमन्त्री समेत भएको उनको भनाई छ । ‘पार्टीको विधि विधान अनुसार सरकारको नेतृत्व चल्न सक्दैन, पार्टी भित्र अधिनायकवाद लाद्न खोज्छ भने त्यो सैह्य हुँदैन । हामीले विधि र पद्दतिको कुरा गरेका हौं, गल्ती कमजोरी केलाउँदै आफुलाई सुधारेर अगाडी लैजानुपर्छ भनेका हौं ।’ उनले भने ।

नेकपामा ओली,  प्रचण्ड र माधब नेपाल पक्षका विद्यार्थी तथा युवा नेताहरू यतिबेला राजधानीमै गुटकाे भेला गर्न समेत सक्रिय छन् ।

अध्यक्ष ओलीले भने सरका सञ्चालनमा पार्टीले हस्तक्षेप गर्न नमिल्ने तर्क अगाडी सार्दै आफु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैमा निर्वाचित भएर आएकाले महाधिवेशन र आम निर्वाचनसम्म कुर्नुपर्ने तर्क गर्दै आएका छन् । ओली इतरकाले भने ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक छाड्नु पर्ने जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया