सचिवालय बैठक : कडा रुपमा प्रस्तुत हुँदै दाहाल–नेपाल कित्ता, ‘जे पर्छ त्यै टर्छ’को अवस्थामा ओली

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विगत लामो समयदेखि दरारपन रहँदै आएको छ । खासगरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको तिक्तताका कारण पार्टीभित्र समस्या देखिएको हो ।

दुई अध्यक्षबीचको शक्ति सन्तुलन, व्यक्तिगत कार्यशैलीलगायतका समस्याका कारण अहिले पार्टी र सरकार दुवै निस्क्रिय देखिएका छन् । ९ सदस्यीय केन्द्रीय नेकपा सचिवालयभित्रै प्रष्ट दुई धारमा देखिएका नेताहरुबीच पटक–पटक बैठक तथा छलफल भए पनि कुनै प्रकारको सहमति देखिएको छैन ।

यसैबीच आज पनि नेकपा सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि डाकिएको छ । बैठकलाई चासोका साथ हेरिएको छ ।

किन चासोको रुपमा हेरियो आजको सचिवालय बैठक ?
आजको बैठकलाई सबैले चासोको रुपमा हेरेका छन् । किनकी, आजको बैठकमा कार्यकारी अध्यक्ष दाहाल पक्ष आक्रामक ढङ्गबाट प्रस्तुत हुँदैछ भने ओली पक्ष रक्षात्मक कोणबाट अगाडि बढ्ने रणनीतिमा छ ।

ओलीको कार्यशैलीसँग पहिल्यैदेखि रुष्ट दाहाल–नेपाल पक्षले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएको छ । दुई वटै पद (प्रधानमन्त्री र पार्टी अध्यक्ष)बाटै राजीनामा दिनुपर्ने वा एक वटा पदबाटै भए पनि राजीनामा दिनैपर्ने अडानमा रहँदै आएको दाहाल–नेपाल पक्षले अब भने बहुमतले नै भए पनि पेलेर अगाडि जाने रणनीति बनाएको छ ।

दाहाल–नेपाललाई उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेतामा झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ छ भने ओलीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले साथ दिँदै आएको छन् । यसकारण पनि अध्यक्ष दाहाल बहुमत र कार्यकारी पदको उपयोग गर्दै आजको बैठकबाट निकास खोज्ने प्रयासमा छन् ।

खासगरी आजको बैठकलाई विशेष रुपमा हेर्नुको कारण भनेको, भोलिको स्थायी कमिटीको बैठक पनि हो । अध्यक्ष दाहाल पक्ष आजको सचिवालयबाट कुनै किसिमको सहमति नभएको खण्डमा दुरुस्तै प्रस्ताव भोलिको स्थायी कमिटीसम्म पुर्याउने मनसायमा छ । तर, ओली पक्ष यो चाहँदैन । कारण, गत २८ कात्तिकमा अध्यक्ष दाहालले ओलीमाथि लगाएका आरोपहरुसँग ओली डराएका छन् । १३ मंसिरमा ओलीले जवाफको नाममा ३८ पृष्ठ लामो प्रत्यूत्तर लेखेपनि ओली अध्यक्ष दाहालको १९ पृष्ठ लामो प्रस्तावबाट ओली नमज्जाले झस्किएका छन् ।

आजको बैठकमा ओलीले उनै दुई वटा प्रस्तावहरुबाट साझा प्रस्ताव बनाएर भोलिको स्थायी कमिटीमा लाने मनसाय बनाएका छन् भने दाहाल पक्षले यसलाई स्वीकारिसकेको छैन ।

सहमति होला वा नहोला, साझा प्रस्ताव बन्ला वा नबन्लालगायतका विषयहरुले पनि आजको सचिवालयलाई खास रुपमा हेरिएको छ । अध्यक्ष दाहालले भने यसअघि नै ‘साझा प्रस्ताव बन्ने सम्भावना कम छ’भनी भनिसकेका छन् ।

बैठकमा उपस्थित होलान् प्रधानमन्त्री ?
यसअघि गत १७ गते बसेको सचिवालय बैठक पनि प्रधानमन्त्री ओली उपस्थित नभएपछि स्थगित भएको थियो । अब आजको बैठकमा पनि प्रधानमन्त्रीको उपस्थिति रहला वा नरहला भनेर चासो लिन थालिएको छ । बैठक शुरु हुन एक घण्टा मात्रै बाँकी रहँदा ओली पक्षीय नेता वा ओलीको सचिवालयले भने कुनै किसिमको जानकारी दिएको छैन ।

यद्यपि पनि अध्यक्ष दाहाललाई साथ दिँदै आएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुने र समयमै बैठक शुरु हुने बताएका छन् भने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू घरमै रहेको र आफूलाई थाहा नभएको बताएका छन् ।

यता अन्य नेकपा नेताहरुले भने प्रधानमन्त्री ओली आजको बैठकमा उपस्थित हुनैपर्ने र छिनोफानो हुनैपर्ने बताएका छन् । नेकपा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले भने प्रधानमन्त्री आजको बैठकमा पनि उपस्थित नभए उन (प्रधानमन्त्री)लाई पार्टीले नपर्खिने बताइन् । ‘सबैभन्दा पहिले त प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुनैपर्छ,’ नेतृ शाक्यले मकालु खबरसँग भनेकी छन्, ‘त्यसपछि समस्या के हो, गर्नुपर्ने के हो यी सबै कुराहरुलाई समीक्षा गरेर एउटा सहमतिमा गर्नुपर्छ ।’

शुक्रबारसम्म निकै दौडधुप गरेका ओली आजको बैठकमा उपस्थित होलान् वा नहोलान् हेर्न बाँकी छ ।

ओलीप्रति आक्रामक सचिवालय
नेकपाभित्र ओलीले पार्टीका सबै बैठकहरु रोक्ने रणनीति अपनाएपछि प्रचण्ड पक्षधर कडा भइरहेका छन् । सरकार सञ्चालन र पार्टी सञ्चालनमा ओलीले एकलौटी गरेको भन्दै आक्रोशित सचिवालयका बहुमत सदस्यले पार्टीभित्रको आन्तरिक विवाद हल गर्न पार्टीभित्रै घनिभूत छलफल माग गरेपनि ओली तयार छैनन् ।

सचिवालयका एक सदस्यले आजपनि ओलीकै कारण सचिवालय बस्न नसके उनीविरुद्ध देशव्यापी कार्यकर्ताहरु सडकसम्म आउन सक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘बहुमतको निर्णय नमान्ने दुनियाँमा कहीँ पनि हुँदैन, उहाँ(प्रधानमन्त्री)ले आजपनि बैठक टार्ने, बैठकमै नआउने तर्क गर्न थाल्नुभयो भने देशभर उहाँविरुद्ध सडकमा नाराबाजी नलाग्ला भन्न सकिन्न ।’
पार्टीले सरकार चलाउने पद्दति भएको र पार्टीकै कारण ओली प्रधानमन्त्री समेत भएको उनको भनाइ छ । ‘पार्टीको विधि विधानअनुसार सरकारको नेतृत्व चल्न सक्दैन, पार्टीभित्र अधिनायकवाद लाद्न खोज्छ भने त्यो सैह्य हुँदैन । हामीले विधि र पद्दतिको कुरा गरेका हौं, गल्ती कमजोरी केलाउँदै आफूलाई सुधारेर अगाडी लैजानुपर्छ भनेका हौं ।’ ती सदस्यले भनेका छन् ।

दाहाल–नेपाल पक्षीय विद्यार्थी नेताहरुको भेला
ओलीको कार्यशैलीप्रति रुष्ट बनेका दाहाल–नेपाल पक्षीय विद्यार्थी तथा युवा नेताहरु यतिबेला राजधानीमै सक्रिय छन् ।

हिजै मात्रै पनि थापाथलीमा भेला सम्पन्न भएको थियो । भेलामा राकुमारी झाँक्री, पम्फा भूसाललगायत नेता/नेतृहरुले प्रशिक्षण गराएका थिए ।

भेलामा संलग्न एक युवा नेताले भनेका छन्, ‘परिस्थिति हेरेर काम गर्नुपर्ने हुन्छ । कथा जे माग्छ यही गर्नुपर्ने पनि हुनसक्छ ।’

प्रतिक्रिया