‘यो सम्झिने मन छ, म बिर्सुँ कसोरी ?’

काठमाडौं । स्वर्गीय स्वर सम्राट नारायणगोपालको आज ३०औं स्मृति दिवस मनाइँदै छ । उनी विसं १९९६ असोज १९ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको कोखबाट काठमाडौंको किलागलमा जन्मिएका हुन् । उनको पूरा नाम नारायणगोपाल गुरुबाचार्य हो । उनी नेपालको एक विशुद्ध ख्यातिप्राप्त गायक हुन् । नारायणलाई स्वर सम्राटको उपाधि पनि दिइएको छ । उनी नेपाली भाषाका पहिलो गायक हुन् भनेर पनि भनिन्छ । जसले नेपाली सांगीतिक आकाशमा गायन पनि एउटा पेशा नै हो भनेर चिनायो पनि । उनी एउटा पेशेवर गायक थिए ।

उनले आफ्नो जीवनकालमा १ सय ३६ वटा गीतहरु गाएका थिए । उनले गाएका धेरै गीतहरुलाई कालजयीको रुमपा अहिले पनि उतिकै सुनिँदै आइएको छ । गोपालको ०२७ साल फाल्गुन महिनामा पेमलासँग विवाह भएको थियो । तर, पेमलासँग विवाह भएपपनि उनीबाट सन्तान भने हुन सकेन । गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए । भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन पनि थालेका उनले पछि अध्यन पूरा नहुँदै पढाइलाई छोड्ने निर्णय गरे ।

उनले एउटा यो सम्झिने मन छ, मान्छेको मायाले, झरेको पातझैं भयो, म त लालिगुराँस भएछु, जुन फूल मैले चाहेको थिएँ, यति धेरै माया दिइ, प्रियसीका यादहरु, केही मिठो बात गरे, मेरो प्यारो ओखलढुङ्गालगायतका थुप्रै कालजयी गीतकहरु गाएका छ्न । उनले गाएकामध्ये तिम्रोजस्तो मुटु मेरो पनि, मलाई नसोध कहाँ दुख्छ खाउ, वीरताको चिनो, ए कान्छा ठट्टैमा यो ज्यान जान लाग्यो, स्वर्गकी रानी, आँखाको भाखा आँखैले, मधुमासमा यो दिल, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छसँगै आजै र राती के देखेँ सपनामै गीतहरु पनि उतिकै चर्चामा छन् ।

नारायण गोपालको कुनै एक समय रानी ऐश्वर्यसँग प्रेम सम्बन्धका बारेमा चर्चा चलेको थियो । त्यो समयमा उनको प्रेमसम्बन्धबारे धेरै सञ्चारमाध्यमहरुले समाचार पनि छापेका थिए । जुन कुरा अहिले सत्य नभएको आकलन गरिएको छ । एकपटक राजपरिवारले नारायण गोपालका गीत सुन्न चाहेर कार्यक्रमक तय गरियो । कार्यक्रम हुने भनेपछि नारायणगोपाल पनि त्यहाँ पुगे । तर, त्यहाँ उनलाई कसैले चासो–वास्ता नगरेपछि उनी त्यहाँबाट निस्किए । उनी आफ्नो घर जानको लागि निस्किएर पानीपोखरीको उकालोमा पुगिसकेका थिए । राजपरिवारका केही मान्छे आएर उनलाई सरकारको सवारी हुने बेला भयो, तपाईँ किन उठेर हिँड्नुभयो? भनि सोध्दा उनले आफ्नो स्वास्थ्यको समस्या देखाउँदै आफूलाई झाडापखाला छ भनि बताए । तर उनी राजपरिवारसँग भने कहिल्यै नजिक नभएको बुझिएको छ ।

नारायण गोपाल कालजयी गीतहरु अहिले पनि अजर–अमर छन् । उनका गीतहरुमा माया प्रेम, पीडा र वियोगहरु पाइन्छ । उनी विसं २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत भएका थिए भने, उनले विसं०२४ मा सर्वोत्कृष्ट गायकको पुरस्कारसमेत पाएका थिए । यस्तै विसं ०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कारबाट पनि सम्मानित भएका थिए ।

जगदम्बा पुरस्कारबाट सम्मानित हुनेमध्ये उनी नै पहिलो गायक हुन् । नेपाली गीतसंगीतको धरोहर उनी अहिले हामीमाझ भौतिक रुपमा नभएपनि हाम्रो मनमस्तिष्कमा भएको सांगीतिक ठाउँ अरु कसैले ओगट्न सकेका छैनन् । उनका गीत तथा संगीतहरुले अझै हामीलाई उनी यहीँकतै छन् कि जस्तो आभाष हर्दम दिइरहन्छ ।
उनै स्वर सम्राट नारायणगोपालले विसं०४७ साल मंसिर १९ गते राति ९ बजे वीर अस्पतालमा आफ्नो प्राण त्याग गरेका थिए । स्वर सम्राटप्रति हार्दिक श्रद्धा सुमन ।

प्रतिक्रिया