बाँकेमा कोरोनाबाट दाङका दुई संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँकेको नेपालगञ्जमा दाङका दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका तुलसीपुरका ४५ वर्षीय पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया