‘ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छ’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको आज (बिहीबार) काे साक्षात्कारमा  बोल्दै पौडेलले एक पद छाड्ने बाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाइ छ । ‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,’ पौडेलले भने ।

पौडेलले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए । ‘पार्टी फुटाउनु हूँदैन, एक बनाउनैपर्छ,’ उनले भने । पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाइ छ । उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए । ‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले भने । पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए ।

प्रधानमन्त्री र गृहमन्त्रीले माफी नमागेसम्म आन्दोलन रोकिँदैनः दिपक खड्का

कार्यक्रममा नेपाली कांग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले माफी नमागेसम्म आन्दोलन नरोकिने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा ओली र बादल दुवैले माफी माग्नुपर्ने भन्दै देशव्यापी आन्दोलन हुने उनकाे भनाइ छ । नेता खड्काले भने, ‘प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले माफी नमागेसम्म आन्दोलन जारी रहन्छ ।’

१४ वर्ष जेल बसेर राजनीतिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेतालाई सामान्य विषयमा नियन्त्रणमा लिनु लोकतन्त्रमाथिको हमला भएको खड्काको तर्क छ । ‘यो सरकार उन्माद र तानाशाही प्रवृत्तिमा चलेको छ । निरंकुशतामा चलेको सरकारलाई सहेर बस्दैनौँ,’ खड्काले भने ।

सडक र सदनबाट आन्दोलनको आँधीबेहेरी ल्याएर सरकारलाई बढार्ने चेतावनी समेत खड्काले दिएका छन् । कांग्रेस एक भएर लोकतान्त्रिक मूल्य र मान्यता जोगाउनका लागि अघि बढ्ने बताउँदै उनले राणा र राजा फाल्ने कांग्रेसलाई कम्युनिष्ट फाल्न कुनै समस्या नहुने पनि बताए । त्यसैगरी, खड्काले पछिल्ला दिनमा राजावादीहरु सलबलाएर लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरे ।

प्रतिक्रिया