‘अध्यादेश, संसद विघटन र संकटकालको त्रासदेखि कोही डराउँदैन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेश, संसद विघटन र संकटकालको त्रासबाट कोही पनि नडराउने बताएका छन् ।

बुधबार फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सद्वारा आयोजित वेबिनारलाई भर्च्यूअल्ली रुपमा सम्बोधन गरेका नेता नेपालले यस्तो बताएका हुन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै नेता नेपालले भने, ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन’, नेता नेपालले भनेका छन् ।

अहिले पार्टीको केन्द्रीय सचिवालयमै अल्पमतमा परेका ओलीले चाल्नसक्ने विभिन्न विकल्प र सम्भावनामध्ये अध्यादेशलाई प्रमुख रुपमा लिइएको छ । यसबीचमा ओलीको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको बाक्लो भेटका कारण पनि उक्त सम्भावना बलियो भएको कतिपय विश्लेषकहरुले बताउँदै आएका छन् । अध्यादेशमार्फत् विभाजनको परिस्थिति निर्माण गरी पार्टी फुटाउने, संसद भंग गर्ने, संकटकाल लगाउनेलगायत संभावना रहेको अड्कलबाजी लगाइरहिएको छ ।

यस्तै नेता नेपालले पार्टी कमिटीहरुको बैठक अनन्तकालसम्म लम्ब्याउन नसकिनेसमेत बताए । सधैंभरी बैठक लब्म्याउँदा पार्टी र सरकार दुवै बदनाम हुने बताएका नेता नेपालले पार्टीमा मानिस संगठित नै हुन छाडेको, पार्टी कमिटी क्रियाशील नै हुन नसकेको पनि बताए ।

यसअघि हिजो बसेको नेकपा सचिवालय बैठक पुनः २० गते बस्नेगरी सकिएको थियो । ओली सहभागी नभएपछि स्थगित गरिएको बैठकले कुनै खालको निर्णय गरेको थिएन । यता आज बस्ने भनिएको स्थायी कमिटीको बैठक २१ गते पुर्याइएको छ ।

प्रतिक्रिया