कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउपछि सरकारको विरोधमा नेताहरु : कसले के भने ?

काठमाडौँ । नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउ पछि नेताहरु सरकारको विरोधमा उत्रिएका छन् । कांग्रेसका वरिष्ठ नेता पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेलगतै नेताहरु सरकारको विरोधमा उत्रिएका हुन् ।

नेता पौडेललाई प्रहरीले गिरफ्तार गरेपछि नेताहरुले सामाजिक सञ्जातलमै विज्ञप्ति निकालेर सरकारको विरोध गरेका छन् ।

पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत : देउवा
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् । देउवाले पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर सरकारलाई यस्तो चेतावनी दिएका हुन् ।

‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु’ देउवाले लेखेका छन् ।

उनले पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका छन् । ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु’ उनले भनेका छन् । देउवाले पौडेलप्रतिको दुव्यर्वहार सर्वसत्तावादको संकेत दाबी गरेका छन् ।

सरकारले आफ्नो अन्त्यको दिनको गणना शुरु गरेको छ : नेता सिंह
कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस तनहुका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिनु निन्दनीय रहेको बताएका छन् । पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरी प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि नै धरपकड शुरु गरेर सरकारले आफ्नो अन्त्यको दिनको गणना शुरु गरेको उनको भनाइ छ।

नेता सिंहले नेपाली कांग्रेसले आफ्ना नेताहरुमाथिको यस्तो दुर्व्यवहारप्रति गम्भीर आपत्ति व्यक्त गरेको जानकारी दिएका छन् । उनले भनेका छन, ‘नेपाली कांग्रेस आफ्ना नेताहरुमाथि हुने यसप्रकारको दुर्व्यवहारप्रति गम्भीर आपत्ति व्यक्त गर्दछु ।’

उनले कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको बताउँदै सत्ताको चरम दुरुपयोग भएको बताए । उनले भने,‘कांग्रेसका नेता कार्यकर्तामाथी धरपकड गर्ने, स्वतन्त्रतापूर्बक हिँडडुल गर्न पाउने, नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् । यो सत्ताको चरम दुरुपयोग हो ।’

उनले नेता पौडेललाई ससम्मान रिहाइ नगरे कांग्रेस सशक्त प्रतिवादमा उत्रिने बताए । ‘यसले नेकपा सरकारको असली चरित्र उदांगिएको छ । तत्काल उहाँलाई ससम्मान रिहाई गर्न माग गर्दै त्यसो नगरिए कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छु घटनाको यतार्थ छानबिन गर्न समेत आग्रह गर्द्छु ।’ नेता सिंहद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

केपी ओली यो तपाईँको लागि निकै महंगो पर्ने छ : गगन कुमार थापा
यस्तै कांग्रेसका युवा नेता गगनकुमार थापाले पौडेल पक्राउ परेका प्रति आपत्ति जनाएका छन् । उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितजन्य प्रतिक्रिया हुन नसक्ने बताए । युवा नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘नेका वरिष्ठ नेता वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन। यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। केपी ओली यो तपाईँका लागि निकै महँगो पर्नेछ।

प्रधानमन्त्रीज्यू, सत्ताप्रतिको लोकतान्त्रिक भ्रमको अन्त्य तनहुुँको घटनाले गरेको छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तनहुँ घटनाप्रति आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले सत्ता प्रतिको लोकतान्त्रिक भ्रमको अन्त्य तनहुँको घटनाले गरेको भन्दै प्रधानमन्त्री केपी ओली प्रति कडा प्रहार गरेका छन् ।

‘प्रधानमन्त्रीज्य ! कुनैपनि सत्ताको पतनको शुरुआत निश्चित घटनाक्रमले तय गर्छ, यहाँको सत्ताप्रतिको लोकतान्त्रिक भ्रमको अन्त्य तनहुँको आपत्तिजनक र निन्दनीय घटनाले गरेको छ ।’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘वरिष्ठ नेता रामचन्द्र पौडेल सहित तनहुँ कांग्रेस कार्यवाहक सभापति समेतलाई गरिएको दुर्व्यवहार र गिरफ्तारीको भत्सर्ना गर्दछौं !’

तनहुँ घटना संघीयता विरोधी तानाशाही काम हो : विमलेन्द्र निधी
कांग्रेस नेता विमलेन्द्र निधिले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका दर्जनौं नेतालाई गिरफ्तार गरेकोमा सरकारको घोर भर्त्सना गरेका छन् । नेता निधीले पौडेल गिरफ्तारीमा परे लगतै समाजिक सञ्जाल फेसबुकमार्फत सरकारको विरोध गरेका छन् ।

‘नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित तनहुँका दर्जनौ काँग्रेस नेताहरुलाई लछार पछार गरी गिरफ्तार गरेकोमा सरकारको घोर भर्त्सना गर्दछु,उनले भनेका छन्,‘स्थानीय तहले निर्माण गरक‍ो र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो।’

राजावादीलाई देशव्यापी छुट, गणतन्त्र वादीलाई निषेधाज्ञा र गिरफ्तार : बाबुराम

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस नेता पौडेल गिरफ्तारीकाे पक्षमा बोल्दै ओलीप्रति व्यंग प्रहार गरेका छन् । उनले राजावादीहरुलाई देशव्यापी छुट तर गणतन्त्रवादीहरुलाई निषेधाज्ञा र गिरफ्तार ओली सरकारको के हो चाला भन्दै प्रश्न गरेका छन् ।

‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार ? ओली सरकारको के हो चाला ?’ उनले भनेका छन्, ‘रामचन्द्र पौडेलकै पालामा बनेको कै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक ? दालमा कालो देखियो है !’

प्रशासनले कानुनी राज्यको धज्जी उडाएको छ : शेखर कोइराला
नेता शेखर कोइरालाले पुल उद्घाटनका लागि गृह जिल्ला तनहुँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको बताएका छन् ।

उनले उक्त घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल ससम्मान रिहाइ गर्न सरकारसँग माग गरेका छन् ।

‘व्यास नगरपालिकाले निर्माण गरेको पूल उदघाटन गर्न गृह जिल्ला तनहुँ पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको छ।’ उनले फेसबुकमा लेखेका छन्,‘यस घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल ससम्मान रिहाइको माग गर्दछु।

बुधबार व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयलाई लिएर कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको छ । निषेधाज्ञा तोड्दै नेता पौडेल पुल उद्घाटनमा जान खोजेपछि नेता पौडेललगायतका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया