बालिका हत्या प्रकरणः तनाव बढेपछि बर्दिबासमा निषेधाज्ञा

काठमाडौं । ६ वर्षीया बालिकाको हत्यापछि भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि महोत्तरीको बर्दिबासमा निषेधाज्ञा जारी गरिएको छ । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्युपछि तनाव झनै चर्किएको थियो ।

आफन्त र स्थानीय आन्दोलन फेरि चर्काएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको हो । प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका १ का ४२ वर्षीय बुद्धिराम न्यौपानेको मृत्यु भएको थियो । उनको मृत्युपछि बिहानदेखि नै प्रदर्शन भइरहेको थियो । थप प्रदर्शन हुन नदिन भन्दै प्रशासनले बिहान ९ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा लागू गरेको हो ।

‘बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा लगाएका छौं,’ महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने- ‘मानिसलाई सडकमा हिँडडुल गर्न रोकिएको छ ।’ प्रजिअ कटुवालका अनुसार पूर्वमा रातोखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा भेटिएको थियो । बालिका अपहरण र हत्या घटना प्रकरणमा बर्दिवास-१४ शुभम बस्तीमा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका-५ का २६ वर्षीय अरुणकुमार साहलाई प्रहरीले सोमबार साँझ नै पक्राउ गरेको छ ।

सोमबार साँझ स्थायी घर गौशाला-५ पुगेका साहले बाबुआमासँग बालिकालाई मारेर भागेको बताएपछि परिवारजनले नै उनलाई इलाका प्रहरी कार्यालय गौशाला पुर्याएर प्रहरीको जिम्मा लगाएका थिए ।

प्रतिक्रिया