बर्दिबास घटना: प्रहरीको गोली लागेका युवकको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर बर्दिबास-१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारका क्रममा राति मृत्यु भएको हो ।

गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका-१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो । आफन्त र स्थानीय दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास-५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको हो । उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ ।

बालिकाको बलात्कारपछि हत्या भएको आरोप आफन्त र स्थानीयले लगाएका छन् । बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया