चर्चामा आउन नचाहने अब्बल गायक कृष्ण काफ्ले

काठमाडौं । काठमाडौं हरेकका लागि सपनाको सहर हो । यहाँ जे सोचेर प्रवेश गरिन्छ वास्तविकता त्यो पाइँदैन । त्यस्तै गायक बन्छु भनेर काठमाडौं पसेका गायक कृष्ण काफ्लेले शुरुवाती दिनहरुमा तितोसत्य नामक टेलिसिरियलमा काम गरेका थिए । घर परिवारको सपाेर्ट विनै गीतसंगीतमा होमिएका उनी आज एक सु–परिचित र सु–प्रसिद गायकका रुपमा परिचित छन् । केहि समयसम्म तितो सत्यमा काम गरेता पनि पछि भने उनले आफ्नै सपनालाई अगाडि बढाउँदै लगे ।

सजिलो त कहाँ छ र तर, पनि हरेक समस्याको सामना गरेर उनी अगाडि बढे । उनका पर्ख पर्ख मायालु, देख न चम्पा, तिम्रो पिक्चर हिट जस्ता दर्जनौँ हिट गीतहरु दर्शकका मुखमा झुण्डिरहेका छन् । जसकारण उनी लोकप्रिय छन् । उनै गायक कृष्ण काफ्लेसँग मकालु खबरकी संवाददाता एन्जिला क्षेत्रीले गरेकाे कुराकानीकाे संक्षिप्त अंशः

अहिले चौतर्फि रुपमा तपाईँको चर्चा-परिचर्चा चलिरहेकाे छ । यो सफलतालाई कसरी लिनु भएको छ ?

यो सफलता पाउनुको पछाडि मैले धेरै दु:ख र संघर्ष पनि गरेको थिएँ । मैले जिरो लेभलबाट नै यो क्षेत्रमा पाइला चालेको हुँ । संघर्ष गरेर नै आफूलाई आज यो क्षेत्रमा टिकाउन सकेँ । यति धेरै प्रतिस्पर्धा छ । म कुनै रियालिटि शोहरुबाट भाइरल भएको पनि होइन । नितान्त संगीत साधना गरेर राम्रा स्रष्टाहरुसँग सहकार्य गरी आज यो स्थानसम्म आइपुगेको छु । र यसको श्रेय मेरा गुरुहरु र दर्शक स्रोताहरुमा जान्छ । सायद आज जे पाएको छु त्यो आफ्नो कर्मको फल नै पाएको छु ।

संगीत क्षेत्रमा तातेताते गर्दाका संघर्षका दिनहरू एक पटक स्मरण गराैँ न :

आफूले सपना बुन्दै गरेका दिनहरु सुनौला नै लाग्छन् । मलाई पनि त्यस्तै लाग्थ्यो । मलाई अहिले पनि ति कुराहरु याद छ । मैले अग्रजहरुका गीतहरु खुब चाख मानेर सुन्थेँ । गाउने प्रयास पनि गर्थेँ । संगीत सिक्ने इच्छा पनि थियो । मैले गीत गाएको सुनेर मेरा आफन्त, साथीभाइ सबैले एक किसिमको सकारात्मक प्रतिक्रिया दिनुहुन्थ्यो । सबैले ‘तँ स्थानिय ठाउँको मात्र नभइ राष्ट्रिय कलाकार पनि बन्न सक्छस् । राम्रो ठाउँमा गएर संगीत सिक’ भनेर झकझकाउने गर्नुहुन्थ्यो ।

पहिला पहिला घरमा झ्याल ढोका बन्द गरेर कोठाम गाउँथेँ, सिक्थेँ । पछि-पछि स्कुलका कार्यक्रमहरुमा, मेला महोत्सव, गायन प्रतियोगीताहरुमा र रेडियोमा हुने प्रतियोगीताहरुमा गाउँन थालेँ । सबैले झक्झकाउँदै गर्दा पहिलै देखि काठमाडौंमा आएर केहि गर्ने सोच र सपना पनि थियो । त्यसै अनुरुप यहाँ आएर दुःख सुख गरेँ पनि । जस्तो सुकै परिस्थितिमा पनि नआतिकन लागिरहेँ । काठमाडौंका गल्ली गल्ली हिँडेर कति जुत्ता चप्पल फटाएँ पनि ।

एक पटक त धेरे नै गाह्रो हुँदा विदेशतिर जानुपर्छ कि भन्ने साेच पनि आएको थियो तर, पनि विचलित भइनँ । जस्तोसुकै परिस्थिति आएपनि त्यसलाई सामना गरेर अगाडि बढि नै रहेँ । दु:खपछि सुख आउँछ भन्थे हो रहेछ । त्यसैले आज यहाँ छु । सबैले माया गरिदिनु भएको छ । राम्रा स्रष्टाहरुसँग जोडिएर गीत गाउन पाएको छु ।

गीत/संगीततिर कसरी प्रभावित हुनुभयो ? 

म नवलपरासी सदरमुकामको परासी भन्ने ठाउँमा पढेँ, बढेँ र हुर्किएँ । परासी भनेपछि भारतको बाेर्डर नजिकै पर्छ । त्यसै पनि त्यहाँ धेरै जस्तो हिन्दि र भोजपुरी गीतहरु सुन्ने गरिन्छ, बजाइन्छ । फिल्महरु पनि तिनै अलि बढि नै हेरिन्छ । यसको बाहुलियता अलि बढि हुन्छ । त्यसकारण पनि मैले हिन्दि भोजपुरी गीतहरु अलि बढि सुन्थेँ । नेपाली गीतहरु कमै मात्रामा रेडियोहरुमा बज्थे । त्यसैले पनि म हिन्दि गीतहरुबाट बढि प्रभावित भएँ । नेपाली पनि सुन्थेँ, गाउथेँ । जस्तो नारायण गोपाल, भक्तराज आचार्य उदित नारायण झा लगायत अग्रज गायकहरूकाे गीतहरु खोजेर सुन्न थालेँ ।

नयाँ गीत आउँदा कहाँ पुगेर भेटिन्छ त्यहि नैँ पुग्थेँ । चक्काहरु किनेर सुन्थेँ । भारतका कालाकारहरु चाहि सोनु निगम, कुमार सानुका गीतहरु धेरै नै सुन्ने गथेँ । मलाई मन पर्ने सबै कलाकारहरुका गीतहरु सुनेर गाउने गथेँ । ६–७ कक्षामा पढ्दादेखि मेरो गीत/संगीत प्रति लगाव बढ्न थाल्याे । र विस्तारै याे क्षेत्रतर्फ माेडिएँ ।

अहिले पनि हिट गीतहरु दर्शक स्रोतामाझ पस्किरहनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएकाे छ ?

अहिले मेरा गीतहरु ब्याक टु ब्याक आइरहेका छन् । जस्तै–पाकेको फल, चाखुम चाखुम, ढुंगे धाराको पानी मन पर्छ गीतहरू आएका छन् । जुन गीतहरुलाई दर्शकले धेरै मन पराइदिनु पनि भएको छ । राम्रो प्रतिक्रिया पाइरहेको छु । मैले भनहिालेँ नि मैले दुःख गरेको चिज राम्रो नै हुन्छ । हुन त म आफैँले पनि दुःख के हो ? बुझ्ने गर्दछु । आफूले धेरै दुःख भोगेको कारणले पनि होला, कुनै पनि चिज मलाई मन परेपछि मात्र बाहिर निकाल्छु । र अहिलेसम्म दर्शक स्रोताहरुले पनि मेरा कामहरुलाई रूचाइदिनु भएकाे छ । र अहिले म आफू पनि आफ्ना गीतहरुको भिडियोमा धेरै नै देखिने गरेको छु ।

गीत/संगीतबाट मात्र जीवनयापन गर्न कतिको सहज छ ?

हुन त मान्छेको आ-आफ्नो लक्ष्य र उद्देश्य हुन्छ । जसले मनैदेखि बुनेको सपना हुन्छ, उसले त्यसलाई अगाडि लैजान सक्छ र सफल पनि हुन्छ । मैले पनि मनैदेखि मेरो सपनालाई आत्मसाथ गरेर अगाडि बढेकाे हुँ र आज म सफल पनि भएको छु अनि खुशी पनि छु । सुरूवाती चरणमा मलाई पनि दुःख कष्ट नपरेको होइन । जे सोच बोकेर आएको थिएँ काठमाडौं, त्यो पाइनँ मैले । मेरो कोही पनि थिएन यहाँ । तर पनि यो भिडमा म एक्लै लडेँ । सिक्न छोडिनँ ।

मलाई यति सम्म पनि भएको छ कि मसँग पकेट खर्च पनि थिएन । हुन त म सानिमाकोमा बस्थेँ । तर त्यो बेलामा पाएको राम्रो काम पनि मैले गरिन । किनकी म त यहाँ गायक बन्ने सपना बोकेर आएको हुँ । अरू काम गर्न थालेँ भने त मैले कामलाई पुरा समय दिनुपर्छ, संगीतमा समय दिन पाउँदिन भनेर मैले काम नै गरिनँ । काम नगरेका कारण मसँग पकेट खर्च नै हुँदैनथ्याे ।

अर्को कुरा म गीतसंगीतमा टन्न पैसा कमाउँछु भनेर आएको पनि थिइनँ । घरबाट सपोर्ट पनि थिएन । न आफूसँग कमाइ नै छ । गीत/संगीतमा लगानी गर्नुपर्छ भन्ने पनि थाहा थिएन । याे क्षेत्रबारे बुझेपछि विस्तारै स्थापित हुँदै गएँ । हुन त अहिले पनि सिक्ने क्रममा नै छु । अझै पनि राम्रो कसरि गरौँ सोचिरहेको हुन्छु । नयाँ सिर्जनाबारे सोचिरहेको हुन्छु, समय पनि दिइनै रहेको हुन्छु । मलाई भाइरल हुनु पनि छैन, म जे छु ठिक छु । कामहरु पनि आइरहेको हुन्छ । देश/विदेशका कार्यक्रमहरुमा व्यस्त भइरहेको हुन्छु । चालिसभन्दा बढी देशहरुमा घुमेको छु । कलाकारले कमाउने भनेको कार्यक्रमहरुबाट मात्रै हो ।

कार्यक्रमहरु कतिको मिस गर्नु भएको छ ?

धेरै नै मिस गरेको छु । हजारौँ दर्शकहरुको माझमा गएर नाच्दै नचाउँदै गरेपछि एक किसिमको खुशी पनि मिल्छ मलाई । पछिल्लो ३/४ वर्ष म धेरै जस्तो विदेशतिरै हुन्थेँ । कार्यक्रमै व्यस्त हुँदा मैले रेकर्ड गर्नैपर्ने कति गीतहरू पनि छुटाएकाे छु । म आफू पनि दर्शकहरुसँग घुलमिल हुन धेरै नै रुचाउँछु । त्यसैले सांगितिक क्षेत्र कहिले खुल्ला जस्ताे भएकाे छ ।

स्टेज कार्यक्रममा जाँदा रेकर्ड गर्नैपर्ने गीतहरू पनि छुटाएँ भन्नुभयाे, रेकर्डिङबाट भन्दा स्टेज कार्यक्रमबाट धेरै आम्दानी हुने भएर कार्यक्रमलाई बढी प्राथमिकता दिनुभएको हो ? 

पहिलो कुरा पैसा तिरेर, टिकट काटेर आयोजकले कसैलाई बोलाएका पनि छैनन् र कहिल्यै बोलाउँदैनन् पनि । चलेको कलाकारलाई आयोजकले बोलाउने हो । स्टेज कार्यक्रममा गएर यतिकै बसेर त पैसा आउने होइन नि । त्यहाँ गएर घोक्रो फुट्ने गरि गाउनुपर्ने हुन्छ । दर्शकलाई फुल मनोरञ्जन दिन सक्नुपर्छ । गीत गाउँदा भन्दा स्टेजमा अझ बढि इनर्जी लस हुन्छ । त्यसैले रेकर्डिङबाट भन्दा स्टेज कार्यक्रमहरूबाटै आम्दानी राम्रो हुन्छ ।

तपाईँको नाम बेचेर कतिले पैसा कमाए भन्ने सुन्नमा आएको थियो, के यो सत्य हो ?

हो सत्य नै हो । मेरै गीतको ट्याग बोकेर मेरै अगाडि गीत गाएको पनि भेटेको छु । यो ठेकेदारी प्रवृत्ति बढेका कारण त्यस्तो भएको हो । सिजनको बेलामा म पनि व्यस्त हुन्छु । त्यतिबेला मेरै फोटो टाँसेर मेरा गीतहरु गाउने,  टिकट बिकाउने काम भयाे।

गीतसंगीतबाट के पाएँ के गुमाएँ जस्तो लाग्छ ?

मान्छेमा धेरै नै इच्छा आकांक्षा हुनु स्वभाविक हो, तर कसले कति राखेको हुन्छ भन्ने कुरामा भर पर्छ । याे क्षेत्रबाट मैले सोचेको भन्दा बढि नै पाएँ । संघर्षका कुरा गर्दा धेरै वर्षसम्म पनि कसैले खोजेन, गीतहरु नचल्दा विदेश जाउँ कि जस्ताे पनि लाग्याे । तर विचलित भइनँ ।

दर्शकहरुका लागि अबकाे नयाँ कोशेली के छ ?

हरेक विधाका गीतहरु गाउन सक्ने खुबी छ ममा । त्यसैले मैले ल्याएका हरेक गीतहरु दर्शकले मन पराइदिनु भएकाे हुन्छ । अहिले पनि नयाँ गीतकाे तयारीमै छु । नयाँ गीतहरू पनि दर्शकले मन पराइदिनु हुनेछ भन्ने विश्वास छ ।

प्रतिक्रिया