मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

ओली–देउवाबीचको भेटबारे के हामी बुझ्न पाउँदैनौँ ?

‘अङ्क गणितमा दरिलो नेकपालाई काङ्ग्रेसको साथ चाहिन्छ र ?’

  • धनबल राई

काठमाडौं । नेपालमा ‘पलीटीक्स् क्राइसीस्’ देखा परिरहन्छ । दल वा नेतागत प्रवृत्तिका कारण कहीँ न कतै, कुनै न कसैबाट ‘पलीटीक्स् क्राइसीस्’ उत्पन्न भइरहेकै हुन्छ । नेता–नेताबीचको सहकार्य कमै देखिन्छ । नेताहरुबीचको झगडा, आरोप–प्रत्यारोप, लाञ्छना अनि शीतयुुद्ध प्रशस्तै भेटिन्छन् । त्यसो त नेपाल अहिले पनि ‘पलीटीक्स् क्राइसीस्’मुक्त छैन । अझ भन्ने हो भने यतिबेला सत्ताधारी दल धर्मराएको छ । घर झगडामा अलमलिएको सत्ताधारी दल नेकपा आफैँ खतरोन्मुख भइरहेको छ । हिजो दुई कम्युनिष्ट सिद्धान्तका राजनीतिक दल मिलेर गठबन्धनमा बाँधिएका उनै दलहरुबीच आज अन्तर शक्ति सङ्घर्ष चलिरहेको छ ।

भनौं नै भने यतिबेलाको नेकपाको हैसियत भनेको ‘कि तँ छैनस्, कि म छैन’ नै हो । पछिल्लो केही दिनयता यही ‘पलीटीक्स् क्राइसीस्’ले नयाँ मोड/रुप लिन थालेको बताइन्छ ।

योबीचमा नेकपाभित्र के के भयो, त्यो आफ्नो ठाउँमा छ । तर, जति भयो– त्यसले नेकपालाई नै रत्तिभर राम्रो गरेन । यसको प्रष्टीकरण नेकपा शीर्ष नेतृत्वद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहालबीचकै तिक्तताले पनि गर्छ ।

त्यसो त यतिबेला नेकपा विवाद गुटगत छलफलमा केन्द्रित छ । त्यसलाई केही स्वभाविक रुपमा लिइए पनि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्नु र भेटबारे दुई दलबाट केही सुइँको समेत दिन नचाहनुले भने शङ्का/उपशङ्का उब्जिएको छ ।

सभापति देउवा गत शनिबार प्रधानमन्त्री ओलीको निम्तोमा दिउँसो ३ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका थिए । तर, सो भेटबारे दुवै दलका कुनै नेताले पनि खुलेर बोल्न चाहेका छैनन् । न प्रधानमन्त्री ओली बोल्छन्, न उनको सचिवालय बोल्छ, न प्रधानमन्त्री निकटका नेताहरु बोल्छन्, न सभापति देउवा नै बोल्छन्, न देउवानिकटका नेताहरु नै बोल्छन् ।  यसकारण पनि ओली र देउवाबीचको उक्त भेट रहस्यमयजस्तै बनेको छ ।

नेकपाभित्र सङ्कट देखा पर्दा ओलीले देउवालाई बोलाएर करिब २ घण्टासम्म अन्तरङ्ग कुराकानी गरेका छन् । यसर्थ पनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको हो । त्यसो त भेट गर्नु नै कुनै ठूलो विषय नभए पनि भेटबारेको जानकारी प्राप्त गर्नु भने सबैको लोकतान्त्रिक र नैसर्गिक अधिकार हो । तर, अहिलेसम्म ओली र देउवाबीच यही कुरा भयो भनेर बाहिरिएको छैन । सदाको ओली र देउवाबीचको भेटलाई प्रेस नोटमार्फत् जानकारी गराइँदै आएको थियो । तर, नेकपाभित्र संकट उत्पन्न भइरहेका बेलामा भएको भेटबारे चाहिँ किन बोलिएन भनेर सबैले आश्चर्यचकित मानिरहेका छन् । यता काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने दुई नेताबीचको भेटघाट दैनिकजस्तै सामान्य भएको बताएका छन् ।

सञ्चारमाध्यममा सम्बन्धित स्रोतले बताएअनुसार संवैधानिक नियुक्तिलाई गौण रुपमा राखेर सत्ता सहयात्राबारे छलफल भएको छ ।

संवैधानिक निकायहरुको नियुक्तिलगायतका विषयमा कुराकानी गर्न बोलाइएको भनिएको सभापति देउवासँग ओलीले सत्ता सहयात्राको विषयमा समेत कुारकानी गरेको स्रोत बताउँछ । सञ्चारमाध्यममा सम्बन्धित स्रोतले बताएअनुसार संवैधानिक नियुक्तिलाई गौण रुपमा राखेर सत्ता सहयात्राबारे छलफल भएको स्रोत बताएको छ । भेटमा ओलीले देउवालाई ६ देखि ८ मन्त्रालयको प्रस्तावसमेत राखेको बुझिएको छ । यद्यपि यता प्रवक्ता शर्माले भने सञ्चारमाध्यममा आएका सबै समाचारहरुमा सत्यता नभएको बताउँछन् । सोमबार मात्रै प्रवक्ता शर्माले लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न  आग्रह गरिसकेका छन् । थप उनले बोल्न चाहेका छैनन् ।

त्यसो त ओली–दाहालसँगै दोस्रो हैसियतका नेताहरुले पनि पार्टी नफुट्ने दाबी गरिरहेका छन् । सोमबार मात्रै भौतिक विकासको उद्घाटन गर्न ताप्लेजुुङको ओलाङचुङगोला पुगेका ओलीले दल विभाजनको झुठो प्रचार भइरहेको बताएका छन् । यद्यपि अध्यक्ष दाहालले भने आगामी १३ मंसिरमा ओलीले केन्द्रीय सचिवालय बैठकमा पेश गर्ने प्रतिवेदनले नेकपाको भविष्य बताउने उल्लेख गरेका छन् । तर, विगतका दिनमा प्रधानमन्त्रीको कार्यशैलीप्रति बफदार बन्ने कांग्रेस प्रवक्ता शर्माले नै यसबारे बोल्न नखोज्दा भने झनै शङ्का उब्जिएको हो ।

‘प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार बदल्ने कि प्रधानमन्त्रीनै बदल्ने त्यो नेकपाकै विषय’ भएको बताउँदै आएका प्रवक्ता शर्माले ओली र देउवाबीच साधारण कुराकानी भएको बताएका छन् । विगतको भेटलाई प्रेस नोटमार्फत् जानकारी दिइँदै गर्दा र यो भेटलाई गुपचुप राखिँदै गर्दा आम मानसमा प्रश्न उठ्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ ।

त्यसो त पछिल्लो निर्वाचनमा बहुमत जनताको साथ पाएको नेकपालाई किन चाहियो सत्ता सहयात्रामा प्रतिपक्षीको भूमिका ? यो प्रश्न अहिले जन–जनमा गुञ्जायस छ । निर्वाचनमा प्राप्त जनताको मतबाटै आफ्नो नेतृत्वको समयावधिलाई बलियो तुल्याउने हैसियत राख्ने नेकपालाई काङ्ग्रेसको साथ नचाहिने नेकपाका दोस्रो हैसियतका नेताहरुको भनाइ छ ।

निर्वाचनमै आफूलाई ‘राजनीतिक अङ्क गणित’मा बलियो सावित गरेको नेकपाले आफैँ कमजोर बनेर प्रतिपक्षीको साथ माग्नुलाई ‘पलीटीक्स् क्राइसीस्’को रुपमा अर्थ्याइएको छ ।

गत ३ मंसिरपछि आफ्नो गुटबाहेक भेटघाट, कुराकानी, छलफल तथा परामर्श बन्द भएको नेकपाभित्र कुन खालको खिचडी पाक्दैछ, त्यो भने हेर्न बाँकी नै छ ।

 

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com