‘काँग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने जनादेश छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने जनादेश रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रवक्ता शर्माले काँग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने जनादेश रहेको स्पष्ट पारेका हुन् ।

कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उनको भनाइ छ । ओली र देउवाका बीचको भेटतर्फ संकेत गर्दै प्रवक्ता शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने पनि स्पस्ट पारे ।

उनले भनेका छन्- ‘भ्रम ; कोहि कसैलाई केही छ भने ! ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं । जय नेपाल !’

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार बालुवाटारमा भएको भेटमा सत्ता साझेदारीको कुरा भएको भन्ने समाचारहरू सञ्चारमाध्यममा आएपछि प्रवक्ता शर्माले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीसँग सत्तासाझेदारी गर्नु कांग्रेसका निम्ति आत्महत्या हुने बताएका छन् । प्रधानमन्त्रीले सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएका बेला काँग्रेस नेता केसीले काँग्रेस सरकारमा जान नहुने धारणा राखेका हुन् ।

प्रतिक्रिया