नेकपा विवाद ‘कि तँ छैनस्, कि म छैन’को दिशामा, देउवासँग सत्ता सहयात्राको सल्लाह

काठमाडौं । यतिबेला सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा गिजोलिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष (कार्यकारी) पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक रुपमै आरोप–प्रत्यारोपमा उत्रिएपछि थप जटिल बनेको नेकपाको घर झगडाको स्थिति ‘कि तँ छैनस्, कि म छैन’तिर उन्मुख भएको छ ।

योबीचको १० दिनमा मथ्थर भएजस्तो देखिने नेकपाको आन्तरिक विवाद यतिकै सल्टिनेवाला छैन । कारण, प्रधानमन्त्री ओलीले पनि आगामी १३ मंसिरमा बस्ने केन्द्रीय सचिवालय बैठकमा ‘काउन्टर प्रस्ताव’को रुपमा राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । जसको जानकारी ओलीले गत ३ मंसिरमा बसेको सचिवालयमै गराइसकेका छन् ।

 

यो प्रकृतिका घटना केन्द्रमा घटिरहँदा जिल्लालगायतका तल्लो कमिटीहरुमा पनि यसको ‘साइड् इफेक्ट्’देखिएको छ । यसको प्रमाणको रुपमा गत कार्तिक ६ गते पर्सा जिल्लामा घटेको घटना, शनिबार (हिजो) चितवनको राप्ती नगरपालिकामा घटेको घटनालगायतलाई लिन सकिन्छ ।

त्यसो त व्यक्तिगत स्वार्थ र गुट उपगुटले गाँजेको नेकपाको केन्द्रीय सचिवालय नै दुई धारमा बाँडिएको छ । ९ सदस्यीय सचिवालयमा बहुमत सदस्यको साथ पाएका अध्यक्ष दाहाल तगडा देखिँदा प्रधानमन्त्री ओली अल्पमतमा देखिएका छन् ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायकाजी श्रेष्ठ  खेमाले गत २८ गतेको सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुनुपर्ने माग प्रधानमन्त्री ओली पक्षीय नेताहरुले गर्दै आएका छन् । खासगरी गोकुल बाँस्कोटा, सूर्य थापा, शंकर पोखरेललगायतले सार्वजनिक रुपमै अध्यक्ष दाहालले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका थिए । तर, अध्यक्ष दाहालले प्रतिवेदन फिर्ता नलिने अडान लिएपछि ओलीले पनि आगामी १३ मंसिरको बैठकमा ‘काउन्टर प्रस्ताव’को रुपमा प्रतिवेदन ल्याउने घोषणा गरेका छन् । उनका प्रेस सल्लाहकारसमेत रहेका स्थायी कमिटी सदस्य सूर्य थापाले भने अध्यक्ष दाहालको एक/एक आरोपको रौं रौं केलाएर जवाफ आउने बताइसकेका छन् ।

केन्द्रमा यस्तै प्रकृतिका घटनाहरुको शृङ्खला चलिहरँदा यसको प्रत्यक्ष असर तल्लो कमिटीहरुमा पनि परेको हो ।

शीर्ष विवादको ‘साइड् इफेक्ट्’ तल्लो कमिटीहरुमा
नेकपाभित्रको विवाद चर्किएर नाटकीय ढङ्गले साम्य हुनु कुनै नौलो कुरा होइन । यसअगाडि नै सयौं पटक फुुटको सङ्घारमा पुगिसकेको नेकपाको चेष्टा अहिले पनि भलो देखिँदैने । खासगरी अध्यक्षद्वयबीचको आरोप–प्रत्यारोपकै ‘साइड् इफेक्ट्’को रुपमा तल्लो कमिटीहरुमा पनि विभाजनजस्तो देखिएको छ ।

पार्टीभित्रको विवाद चर्किँदै गएको बेला गत ६ कार्तिकमा पर्सामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालनिकट नेताहरूबीच हानाहानकै स्थिति सिर्जना भएको थियो । नेकपा गाउँपालिका कमिटीका पदाधिकारी एवम् सदस्यहरूको शपथग्रहण कार्यक्रम स्थलमा साङ्घातिक आक्रमण भएको सो घटनाको कारण पनि केन्द्रको उत्तरचढाव नै थियो । घटनामा पर्सा जिल्ला कमिटीका सदस्य तथा त्यसै गाउँपालिका कमिटीका सचिव मुकेस चौरसियाको हत्या नै भएको थियो ।

सो घटना पनि सुनियोजित भएको भन्दै अध्यक्ष दाहाल–नेपाल समूहले दोषीलाई कारबाहीको मागसमेत गरेका थिए । जहाँ गुटगत आक्षेप प्रष्टै देखिन्छ ।

त्यसो त शनिबार मात्रै एक समारोहलाई सम्बोधन गर्न आफ्नै निर्वाचन क्षेत्र चितवन क्षेत्र नं. १ पुगेका नेकपा सांसद सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी भयो । विकास निर्माणका अवलोकन गर्न त्यहाँ पुगेका पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले भौतिक विकासको कुरै नगरी प्रधानमन्त्री ओलीविरुद्ध झुठो लाञ्छनाहरु लगाउन शुरु गरेकाले उनीविरुद्ध नाराबाजी गरिएको कार्यकर्ताहरुले बताएका छन् । सो घटनालाई पनि नेकपाको शीर्ष नेतृत्वबीचको झगडाकै रुपमा लिइएको छ ।

‘शेरबहादुर देउवासँग छलफलमा प्रधानमन्त्री ’
यता नेकपा फुटको सङ्घारमा पुगेको बेला प्रधानमन्त्री ओली विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् । शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका देउवासँग राजनीतिक नियुक्तिलगायतको विषयमा कुराकानी भएको बताइए पनि अन्य कुरोको चुरो अर्कै भएको स्रोत बताउँछ ।

नियुक्तिका विषयमा कुराकानी गर्न भनेर बोलाइए पनि प्रधानमन्त्री र देउवाबीच सत्ता सहयात्राका विषयमा पनि कुराकानी भएको स्रोतले बताएको छ । बालुवाटर स्रोतका अनुसार सत्तारुढ दल नेकपा फुटको सङ्घारमा रहेको र फुटेमा सत्ता सहयात्राका लागि ओलीले देउवालाई आग्रह गरेका छन् । त्यसको अवला, सत्ता सहयात्राका लागि के के चाहिने हो त्यो दिन आफू तयार रहेकाले सहयोग गर्न पनि ओलीले देउवालाई आग्रह गरेको छन् । योभन्दा अगाडि पनि यस्तै बेला ओलीले देउवालाई बोलुवाटार बोलाउने गरेका थिए ।

यता ओलीले देउवासँग सहयोग माग्नुले ओली पूर्वमाओवादीसँगको गठबन्धन तोड्ने मनस्थितिमा पुगिसकेका राजनीतिक विश्लेषकहरु बताउँछन् ।

त्यसो त गत असारमा नेकपा एमाले नामक दल निर्वाचन कार्यालयमा दर्ताका लागि लगिएको थियो । तत्पश्चात् उसले नेपालको राजनीतिक दलको हैसियत पनि पाइसकेको छ । त्यतिबेला पनि ओलीमाथि आफ्नै (ओलीकै) निर्देशनमा दल दर्ता गराएको भनी अर्का कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले पनि आरोप लगाएको थिए ।

‘सार्वजनिक रुपमै आरोप–प्रत्योप’
पार्टीभित्रको विवाद चर्किरहेको बेला नेताहरुबीच आरोप–प्रत्यारोपको शृङ्खला पनि चुलिएको छ । खासगरी गुट–उपगुटगत नेताहरुबीच आरोप–प्रत्यारोप देखिएको हो ।

केही समयअगाडि अध्यक्षद्वयबीच यस्तै ‘पत्र युद्ध’ चलेको थियो । केन्द्रीय सचिवालयको बैठक नबोलाउने अडान लिएका प्रधानमन्त्री ओलीलाई बहुमत सचिवालय सदस्यहरुले बैठक बोलाउनेबारे लिखित पत्र नै बुझाएपछि शुरु भएको ‘पत्र युद्ध’ कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित छैन । किनकी, आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा अध्यक्ष दाहालको आरोपलाई काउन्टर दिनेगरी प्रधानमन्त्रीले जवाफ ल्याउँदैछन् ।

त्यसो त सोही सन्दर्भले सिर्जना गरेको घटनाहरुको शृङ्खला सामाजिक सञ्जालसम्म आइपुगेको छ । सांसद सुरेन्द्र पाण्डेविरुद्ध भएको दुर्व्यवहारबारे नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘भर्त्सना गर्दछु’ भन्दै लेखेको ट्वीट्मा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ । गज्जब छ, गुटगत अन्तरदृष्टि र छनौटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य । तब न नारायणकाजी !’ भनी कटाक्ष गरेका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीका विश्वासपात्र तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले पनि गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने भन्दै हो–हल्लाको अर्थ नभएको बताएका छन् ।

प्रतिक्रिया