‘आदिपुरुष’ को रिलिज मिति घोषणा, मुख्य भूमिकामा प्रभास

एजेन्सी । बाहुबलीका अभिनेता प्रभास लामो समयदेखि आगामी चलचित्र ‘आदिपुरुष’ को लागि चर्चामा थिए । छायाँकन सुरू नहुँदै अहिले यस चलचित्रकाे रिलिज मिति घोषणा गरिएको छ ।

यस वर्षको सुपरहिट चलचित्र ‘तन्हा जी द अनसंग योद्धा’ का निर्देशक ओम राउतले आफ्नो अर्को चलचित्र ‘आदिपुरुष’ को रिलिज मिति घोषणा गरेका हुन् । उक्त चलचित्रको रिलिज मिति सामाजिक सञ्जालमार्फत् घोषणा गरिएको हाे । उनका अनुसार ‘आदिपुरुष’ ११ अगष्ट, २०२२ मा सिनेमा हलहरूमा रिलिज हुनेछ ।

ठुलो बजेटमा निर्माण हुन लागेकाे सो चलचित्रमा प्रभास मुख्य भूमिकामा देखिँदै छन् । जसमा उनले आदिपुरुषको भूमिका निभाउने छन् । तर, सीताको भूमिका कसले निभाउने भन्नेबारे अझैसम्म निर्माताहरुले खुलाएका छैनन् । सीताको भूमिकाको लागि धेरै अभिनेत्रीहरुको नाम जाेडिएकाे छ । उक्त भूमिकाका लागि कियारा आडवाणी, अनुष्का शर्मा, कृति सैनन र दीपिका पादुकोणको नाम चर्चामा थियाे । तर, फाइनल को भयो भन्ने कुरा खुलाइएकाे छैन ।

भारतिय सञ्चार माध्यमका अनुसार सो चलचित्र ३५० करोडदेखि ४०० करोडसम्मको बजेटमा निर्माण हुने भएको छ । सो चलचित्रको छायाँकन २०२१ बाट सुरु हुने बताइएकाे छ । उक्त चलचित्रसँग आबद्ध रहेका व्यक्तिहरूले यस चलचित्रले पनि बाहुबलीले जस्तै नयाँ इतिहास सिर्जना गर्ने दाबी गरेका छन् । प्रशंसकहरु पनि यस चलचित्रलाई लिएर निकै उत्साहित छन् ।

प्रतिक्रिया