ओलीको नक्कली राष्ट्रवादले पार्टीलाई ठूलो क्षति पुर्‍यायो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली भएको आरोप लगाएका छन् । सचिवालयमा पेश गरिएको एकल राजनीतिक दस्तावेजमा प्रचण्डले ओलीको नक्कली राष्ट्रिवादले पार्टी र सरकारलाई ठूलो क्षति पुर्‍याएको आरोप लगाएका हुन् ।

आफू शक्तिशाली रहन ओलीले मुलुकको हितविपरीतका गतिविधि र निर्णय गरी आफ्नो राष्ट्रवादलाई नक्कली साबित गरेको प्रचण्डको तर्क छ । राजनीतिक दस्तावेजमा एमसीसीदेखि सीमा विवाद र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँगको भेटसम्मका घटनाले ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको उल्लेख छ ।

प्रतिवेदनको ४ नम्बर बुँदामा भनिएको छ, ‘नेपालको इतिहासमै पहिलो पटक कुटनैतिक मूल्यमान्यता र प्रधानमन्त्रीको प्रोटोकलविपरीत भारतीय संस्था ‘रअ’का प्रमुखसँग समकक्षीका रूपमा वार्ता र प्रेस नोट जारी गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभीमानमाथि गम्भीर आघात पुर्‍याउने कार्य गरियो ।’ रअ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीले ५ कात्तिकमा भेट गरेका थिए । ओलीको व्यवहारलाई अपारदर्शी र अमर्यादित भन्दै प्रचण्डले पार्टीलाई यसले ठूलो क्षति पुर्‍याएको उल्लेख गरेका छन् ।सबै उनले पार्टी एकता र संविधानका आधारभूत वैचारिक, राजनैतिक पक्षमाथि ओलीबाट निरन्तर प्रहार भएकै कारण पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको टिप्पणी गरेका छन् । ‘क के.पी. शर्मा ओलीले पार्टीमा कार्यविभाजन गर्नेदेखि लिएर राजकीय जिम्मेवारी प्रदान गर्ने कार्यमा संकीर्ण गुटबन्दीको अभ्यास गर्नुभयो’ प्रचण्डको दस्तावेजमा लेखिएको छ, ‘पदहरु निजी सम्पत्ति झैं वितरण गर्दै षडयन्त्रपूर्ण खेलमा संलग्न भएका तथ्यहरु सार्वजनिक रुपमा छताछुल्ल भए ।’

केपी ओली ‘कम्युनिस्ट’ होइनन्
प्रचण्डले केपी ओलीले कहिल्यै समाजवाद, जनवादको पृष्ठपोषण नगरेको र व्यवहारतः नवउदारवादको वकालत गरेकाले उनलाई कम्युनिस्ट भन्न नहुने दलील प्रस्तुत गरेका हुन् ।

समाजवादको रणनीतिक लक्ष्य, शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धा, कानुनी शासन, मानवअधिकारको मूलभूत मान्यता, आवधिक निर्वाचन संविधानको सर्वोच्चता, नियन्त्रण र सन्तुलनको विधि, संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता, दलाल नोकरशाही पुँजीवादमाथि नियन्त्रण र नियमन गर्ने पार्टी एकताले तयार पारेका राजनीतिक आधर हुन् । त्यस्तै वर्तमान विश्व परिस्थिति अनुसार राष्ट्रिय पुँजीको विकास गर्ने तथा सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिई सामाजवादको आधार तयार पार्ने पार्टी एकताले स्वीकार गरेको राजनीतिक कार्यदिशा हो । तर, योभन्दा ठीक उल्टो गतिमा हिँडिरहेको प्रचण्डको निर्क्यौल छ ।

“उहाँले न कहिल्यै समाजवादको कुरा गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकारका तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ,” प्रचण्ड दस्तावेजमा किटानका साथ भन्छन्, “व्यवहारतः उहाँले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीले मदन भण्डारी फाउन्डेसनलाई पार्टीको स्वरूपमा ढाल्न खोजेको बताउँदै पार्टी स्थायी कमिटीको पाँचौं बैठकको निष्कर्षको मर्म मै प्रहार गरेको आरोप लगाएका छन् । भन्छन्, “उहाँले पार्टी, विचार, नीति र योजनाको होइन बरु प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रूप र मान्यता अनुसार सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरिरहनुभएको छ ।”

पार्टीका अन्य सबै नेताहरू जेठ ३ गतेको मदन-आश्रित स्मृति दिवस, फागुन २१ गतेको सुखानीका सहिदहरुको स्मृति दिवस, फागुन १ गतेको जनयुद्धका सहिदहरूको स्मृति दिवसमा सहभागी बनेर पार्टी एकताको मर्म र भावनालाई सम्मान गरेको र तर ओलीले त्यो सदासयता देखाउन नसकेको प्रचण्डको बुझाइ छ ।

  • हेर्नुहोस् एकल राजनीतिक दस्तावेजको पूर्णपाठ
प्रतिक्रिया