उद्योग र श्रम क्षेत्रमा नीतिगत सुधारको खाँचो छः सांसद थेबे

काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले मुलुकको औद्योगिक विकास र श्रमिकको हितका लागि संसदीय समितिले अनुगमनभन्दा नीतिगत सुधारमा बढी ध्यान दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा बोल्दै सांसद थेबेले सरकार, उद्यमी र श्रमिक तीनै पक्षलाई लाभ पुग्ने गरी समितिले नीतिगत हस्तक्षेप गर्नुपर्ने बताएका हुन् ।
उनले समितिको काम केवल भौतिक संरचनाको अवस्था हेर्नेमा सीमित हुन नहुने भन्दै औद्योगिक क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधानका लागि पहल गर्नुपर्ने बताए ।
अनुगमनका क्रममा श्रमिकको स्वास्थ्य र सुरक्षाको अवस्था कमजोर देखिएको उल्लेख गर्दै थेबेले उद्योगमा काम गर्ने श्रमिकका लागि आवश्यक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिए ।
उनले कतिपय उद्योगमा श्रमिकले रासायनिक पदार्थसँग काम गर्दा समेत मास्कलगायतका आवश्यक सुरक्षा सामग्री प्रयोग नगरेको अवस्था भेटिएको बताए । श्रमिकको स्वास्थ्य सुरक्षा उद्योगीको जिम्मेवारी र दीर्घकालीन हितसँग जोडिएको विषय भएको उनको भनाइ छ ।
सांसद थेबेले उपत्यकाभित्रका औद्योगिक क्षेत्र र बाहिरी क्षेत्रका औद्योगिक करिडोरलाई फरक दृष्टिकोणबाट हेर्नुपर्ने बताए । सहरी क्षेत्रभित्र सञ्चालित उद्योगबाट हुने प्रदूषण र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै स्पष्ट मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
स्टार्टअपको विषयमा बोल्दै उनले उद्योग विभागमा दर्ता हुने संख्या बढाउँदैमा मात्र उद्यमशीलताको लक्ष्य पूरा नहुने बताए ।
युवालाई उद्यमशीलतासँग जोड्न देशभरका स्थानीय तहमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकलाई परिचालन गर्नुपर्ने उनको सुझाव छ । स्थानीय स्तरमा उद्यमीमैत्री वातावरण नबनेसम्म रोजगारी सिर्जना र युवाको वैदेशिक पलायन रोक्न नसकिने उनले बताए ।
करिब ४० प्रतिशत हिस्सा ओगट्ने युवा जनशक्तिलाई विश्वासमा लिएर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेमा सांसद थेबेले जोड दिए ।
उनले आगामी दिनमा हुने औद्योगिक अनुगमनलाई थप प्रभावकारी बनाउन पूर्वतयारीसहित जानुपर्ने बताए । अनुगमनले समस्या देखाउने मात्र नभई ठोस नतिजा र नीतिगत स्पष्टता ल्याउनुपर्ने उनको भनाइ छ ।








