नेकपा विवाद: ‘दुई पाइलट’ दुईतिर, कसले गर्ला सेभ ल्याण्डिङ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति संघर्षको विवाद फेरि एकपटक बढेको छ । उग्ररुप लिएको यो विवादका कारण अब फेरि आशंका जन्मिन थालेको छ- यसपटक नेकपा विभाजित हुन्छ ।

नेकपा फुटकै अवस्थामा पुगेको यो पहिलो पटक भने होइन । यसअघि दुई पटक नेकपामा विवादहरु यति चुलिएका थिए कि पार्टी विभाजन हुनसक्ने सम्भावना बढेको थियो । तर, दुवै पटक विभिन्न सर्तहरु बनाएर दुई गुटमा बाँडिएका नेताहरु फेरि एक भए ।

पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवाद, मन्त्रिमण्डलमा भएको हेरफेर र भारतीय जासुसी संस्था रअसँग भएको प्रधानमन्त्री ओलीको भेटका कारण नेकपामा विवाद थप बढेको हो । र, यसलाई पार्टीमा बैठकबाट समाधान गर्न प्रचण्डलगायत नेताहरुले माग गरेका छन् तर, यसमा ओली तयार छैनन् ।

उल्टो ओलीले ‘पार्टी फुटाउँछु भनेको’ खबर एकाएक बाहिरियो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार आफ्ना निकट नेताहरूलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर प्रधानमन्त्री ओलीसँगको भेटका सम्बन्धमा त्यस्तो ब्रिफिङ गरेका थिए । त्यसपछि नेताहरुको संक्रियता झन् बढ्यो, ओली-प्रचण्ड पक्षीय नेताहरुले सामाजिक सञ्जालदेखि नेताहरुसँगको छलफललाई तीव्रता दिए तर, ओली-प्रचण्डबीच संवाद भने अझै हुन् सकेको छैन ।

वामदेवले गर्लान् सेभ ल्याण्डिङ ?
पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद मिलाउन समन्वयकारी भूमिका खेल्न राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गगरिन् । मंगलबार राष्ट्रपति निवास शितल निवासमा गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले अहिलेको विवाद मिलाउन गौतमले विशेष भूमिका खेल्नु पर्नेमा आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको यो आग्रहमा गौतमले सकारात्मक जवाफ पनि दिए । ओली प्रचण्डबीच दूरी झन् बढ्दै जाँदा राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई भेटघाट गर्नुलाई नेकपामा निकै महत्वका साथ हेरिएको छ । यसअघि वैशाखमा भएको नेकपा विवादमा अन्त्यमा गौतमले समन्वय गरेर विवाद मिलाएका थिए ।

माधव नेपाल मौन
त्यसो त पार्टीभित्रको विवादमा प्रधानमन्त्री ओली विरुद्धको मोर्चाबन्दीमा अध्यक्ष दाहाललाई सघाइरहेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो पटक उत्पन्न विवादमा मुख खोलेका छैनन् । नेता नेता र उनीनिकट नेताहरुले मुख नखोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसपटक नेपाल र प्रचण्डले सहकार्य गर्न सक्ने अनुमान पनि गरिएका छन् । तर, नेपालनिकट नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले चाहिँ नेकपा अहिले नफुट्ने दाबी गरेका छन् ।

ओलीको यस्तो निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीभित्रैबाट घेराबन्दीमा पारिएको भन्दै तयारी अवस्थामा रहन प्रदेश कमिटी नेताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार प्रदेश नम्बर १ को कमिटी भेलालाई जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले पार्टी एकता जोगाउन अन्तिम कसरत जारी राखेको तर केही नेताहरु समूह बनाएर आफूमाथि लागेको बताएका छन् । उनले सकेसम्म सहमति गर्ने नभए विकल्पमा जानुपर्ने भन्दै तयारी अवस्थामा बस्न प्रदेशका नेताहरुलाई निर्देशन दिएका छन् ।

सरकारले राम्रो गर्दागर्दै पनि आफूलाई असफल बनाउन पूर्वएमालेकै साथीहरु लागेको भनदै उनले भने, ‘मिडियामा पार्टी फुटाउने भ्रम छरिएको छ, तर म अन्तिमसम्म एकता जोगाउन लाग्नेछु, सहमति नआएको खण्डमा जस्तोसुकै कदम चाल्नुपर्ने हुनसक्छ कमरेडहरु तयारी अवस्थामा बस्नुहोला ।’

प्रतिपक्षभन्दा पनि आफ्नै पार्टीबाट सरकारलाई असहयोग भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले जनताले पाँच वर्षका लागि दिएको मत खेर जान नदिने प्रतिबद्धता जनाए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधनका क्रममा सबै जिल्ला र निर्वाचन क्षेत्रमा मदन भण्डारी फाउन्डेसन सक्रिय तुल्याउन निर्देशन दिएका थिए ।

पछिल्लो पटक कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादले नेकपाका दुई अध्यक्षबीच तित्तता बढाएको छ । त्यसैकारण ओली र दाहालबीच संवादसमेत रोकिएको थियो । उनीहरुबीच ११ दिनपछि गत शनिवार भेटवार्ता भए पनि कुनै सहमति भएको थिएन । यही भेटमा प्रधानमन्त्री ओलीले अलगअलग जाने विकल्प अगाडि सारेपछि नेकपाको राजनीति फेरि एकपटक तनावपूर्ण बनेको छ ।

प्रतिक्रिया