नेकपा अध्यक्षद्वय भेटः असन्तुष्ट प्रचण्डले प्रधानमन्त्री ओलीसँग के कुरा गरे ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका छन् । बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्ला विवादबारे सचिवालय बैठकमा छलफल गरेर निकास निकाल्नुपर्ने बताएका हुन् ।

१२ दिनपछि बालुवाटार पुगेका अध्यक्ष दाहालले ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए । ‘पार्टीभित्र भएका निर्णयहरू कार्यान्वयन गर्नुपर्‍यो, पछिल्ला समस्याहरू जो देखिए त्यसबारे पार्टी कमिटीमा छलफल गरेर अघि बढ्नुपर्छ भन्ने कुरा प्रचण्डले अर्का अध्यक्षसमक्ष राख्नुभयो,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने ।

उनका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, पर्सामा भएको नेकपाका कार्यकर्ताको हत्या, भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखको नेपाल भ्रमण र कोरोनाभाइरसको महामारीमा सरकारको भूमिकाबारे मुख्य रूपमा छलफल भएको हो । छलफल सकारात्मक रहेको बताइन्छ ।

यसअघि कार्तिक ४ गते मङ्गलवार प्रधानमन्त्री र प्रचण्डबीच छलफल भएको थियो । त्यस भेटलाई लिएर दुवैको सचिवालयको तर्फबाट फरक(फरक खालको प्रेस नोट जारी भएपछि विवाद छताछुल्ल भएको थियो ।

प्रतिक्रिया