‘जिद्दीपन र एकोहोरो संगीतप्रतिको झुकावले यो क्षेत्रमा लागि छाडेँ’(भिडियोसहित)

  • एन्जिला क्षेत्री

काठमाडौं । भनिन्छ, गीत संगीत पशुपंक्षीलाई पनि मनपर्छ । त्यसमा पनि हामी त मानवजाति । गीत संगीत मन नपर्ने मान्छे सायद विरलै होलान् । फरक यति हो कि कसैलाई कुनै विधा मन पर्ला, त कसैलाई कुनै ।

गीत संगीतले जो कसैलाई पनि मन्त्र मुग्ध पार्न सक्छ । हाँसेको मान्छेलाई रुवाउँछ । रोइरहेको मान्छेलाई हँसाउँछ । त्यस्तै कञ्चनपुरकाे दोधारा चाँदनीमा हुर्केका गायक बादल थापाको कथा पनि यस्तै-यस्तै छ ।

सानैदेखि गीत संगीत पारखी उनी पढाइलाई नै थाँती राखेर गीत संगीतमा लाग्न चाहन्थे । बाबु आमाको करकापले गर्दा बल्ल तल्ल वि.सं. २०१३ सालमा एसएलसी उर्तिण गरे । तर, एसएलसी पश्चात् उनी म्युजिक सिक्न चाहन्थे । ‘बरु म संगीतमा नै पिएचडि गर्छु नि भनेर परिवारमा आग्रह गरेँ’, उनि भन्छन् ।

अहिले भर्खर २४ वर्षको मात्र भए बादल । तर, गीत संगीतमा भने एउटा फरक खालको क्रेज बनाइसकेका छन् बादलले ।

घर परिवारको सपोर्ट विना नै १३/१४ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी गाउँका मेला महोत्सव र स्कुलमा हुने कार्यक्रमहरुमा अलि अलि गाउने गर्थे । लजालु स्वभावका कारण उनले गाएको देख्दा गाउँका साथीभाइ, आफन्तहरु चकित पर्थे । गीत संगीतमा धेरै अनुभव बटुल्ने चाहाना भएता पनि उनलाई घर परिवारले भने यो क्षेत्रमा भविष्य छैन भनि जहिले रोकटाेक गर्न खोज्थे । तर, जिद्दि स्वभावको भएको कारण अन्ततः उनी यो क्षेत्रमा लागि छाडे ।

हाम्रो गाउँ ठाउँमा अहिले पनि त्यो छ, ता की छोराछोरी गीत/संगीतमा होइन कुनै सरकारी जागीरे बनिदेओस् । म्युजिक क्षेत्रमा भविष्य छैन् भन्ने । बादललाई पनि बाबु आमाले यो क्षेत्रमा नलाग्न धेरै फोकस गरे । तर, ‘आफ्नो जिद्दीपन र एकोहोरो संगीत प्रतिको झुकावले अन्ततः यो क्षेत्रमा लागि छाडेँ,’ उनि विगत सम्झन्छन् ।

घर परिवारले नलाग भनेको क्षेत्रमा लागेपछि परिवारको साथ पाउने त कुरै भएन । झन् यो क्षेत्रमा त जति सक्दो धेरै घुलमिल हुन सक्यो भने अगाडि बढ्न सहज हुन्छ । त्यसमाथि उनलाई लाजको घुम्टोले जहिले छोपिरहन्थ्यो । भन्छन् –‘लजालु स्वभाव भएको कारण पहिला पहिला त खुलेर गाउन पनि सक्दैन्थेँ ।’

जब उनको जिद्दीपनाले गर्दा गीत संगीतमा लागे । परिवारको केहि सिप लागेन । विभिन्न सांगीतिक कार्यक्रमहरुमा भाग लिइरहने उनी एक पटक स्कुलको कार्यक्रममा गाउँदा प्रथम भए । तर, छोराले राम्रो गाउँछ भन्ने थाहा पाउँदा पनि परिवारको सपोर्ट भने मिलेन । उनी कसैकाे कुरा नसुनि एकोहोरो संगीतमा लागिरहे । अन्ततः एसएलसीपछि संगीत सिक्नकै लागि छिमेकी राष्ट्र भारत प्रस्थान भए । उनले त्यहाँको हरियाणा फरिदावादमा केहि समय संगीत सिकेर नेपाल फर्किए ।

घर आएपछि बुबाले नै उनलाई काठमाडौं पठाए । काठमाडौं प्रायः मान्छेको लागि सपनाको सहर हो । उनी पनि गीत संगीतमा केहि गर्छु भन्ने सपना बोकी काठमाडौं हानिए । काठमाडौं सोचेको जस्तो कहाँ सजिलो छ र ! नयाँ मान्छे, नयाँ ठाउँ । पहिला पहिला त रिझिनै गाह्रो । ‘कहिलेकाहीँ त घर फर्किन्छु जस्तो लाग्थ्यो’, उनी सुनाउँछन् । विस्तारै सबै बुझ्दै गए । चिनजान पनि हुँदै गयो अनि उनले ‘मनमै बसि मन जलाई’ बोलको गीत निकाले र घर फर्किए ।

बलेको आगो सबैले ताप्छन् भने जस्तै उनी गाउँ गएपछि चारैतर्फ सबैले हाइहाइ गर्न थाले । कहिल्यै नबोल्नेहरू पनि बोल्न थाले । तँ भन्नेहरु तपाइँ भन्न थाले । जता पनि उनकै गीत बज्थ्यो । भन्छन्–‘पहिलो पटक घर जाँदा आमाले फुलमालाले स्वागत गर्नु भएको थियो ।’

आमाको मन न हो चौतर्फी रुपमा छोराको चर्चा भएपछि आमाको आँखाबाट खुशीकाे आँशु बगेका थिए ।

अहिले पनि उनी गीतसंगीतमा नै संघर्ष गरिरहेका छन् । गीत संगीतमै जीवन समर्पण गर्छु भनि लागेका उनी पछिल्लो समय भने देश/विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त हुन्छन् । ‘ओई तिम्रो छ की छैन कोई’, यही गीतले हाे बादलकाे पहिचान बनाएकाे । उनकाे याे गीत अझै पनि चर्चित छ, बजिरहन्छ ।

भिडियो :

प्रतिक्रिया