प्रधानमन्त्रीको दसैं शुभकामनामा पुरानै नक्सा, त्रुटि कि नियत ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान् चाड दसैंका अवसरमा दिएको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा प्रयोग गरेका छन् । सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् ।

शुभकामना दिनका लागि प्रयोग भएको तस्बिरमा नेपालको निशान छाप अंकित गरिएको छ तर उक्त छापमा रहेको नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग समेटिएको पाइएको छैन । संसदले नयाँ नक्सा पारित गरेदेखि उक्त नक्सा प्रचलनमा ल्याउन थालिएको थियो ।

यसैबीच प्रधानमन्त्रीले दसैं शुभकामनामा प्रयोग गरेको पुरानो नक्साप्रति कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमा ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन’ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नक्साप्रति भारतको भने असन्तुष्टि छ । बुधबार राति मात्रै नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई गोप्य भेटवार्ता गरेको विषय पनि विवाद र चर्चामा छ ।

ओलीले केही दिनअघि पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको पुस्तक (जसमा लिपुलेक, लिम्पियाधुरा नेपालमा पर्ने कुरा उल्लेख भएको) बिक्री वितरणमा समेत रोक लगाएका थिए ।

प्रतिक्रिया