बामदेव गौतमविरुद्ध परेको मुद्दाको सुनुवाइ आज पनि नहुने, अब कहिले हुन्छ ?

काठमाडौं । राष्ट्रिय सभामा मनोनीत बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बुधबार (आज) पनि सुनुवाइ नहुने भएको छ । कोरोना भाइरसबाट हुने कोभिड १९बाट केही न्यायाधीश संक्रमित भएपछि सुनुवाइ नहुने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले हेरिरहेको मुद्दा गत १६ असोजमा हेर्दाहेर्दैमा राखिएको थियो । १६ असोजमा नेकपा उपाध्यक्षसमेत रहेका गौतमको तर्फबाट पूर्व महान्याधीवक्ताहरु युवराज संग्रौला र राघवलाल वैद्यका साथै शेरबहादुर केसीले बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै अशोज ५ गते रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले गौतमलाई ‘थप संवैधानिक नियुक्ति नदिन’ र संवैधानिक इजलासमा थप सुनुवाइ गर्न आदेश दिएको थियो ।
प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अशोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् । अबको सुनुवाइ दशैंपछि मात्रै हुनसक्ने जनाइएको छ ।








