राजधानी बुटवल नै हुनुपर्छ : बालकृष्ण खाँण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न माग गरेका छन् । षड्यन्त्रपूर्वक ढंगले राजधानी नयाँ ठाउँमा सार्न खोजेप्रति विरोध जनाउँदै खाँणले राजधानी बुटवल नै कायम गर्न माग गरेका हुन् ।

विज्ञप्ति जारी गर्दै नेता खाँणले प्रदेश सरकारले विज्ञको सल्लाह र सुझाव पन्छाएर षडयन्त्रपूर्वक राजधानी सार्न खोजेको आरोप पनि लगाए । ‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दु:खद पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ ।

लोकतान्त्रिक मूल्य र मान्यताको उपहास हुनेगरी निर्णय कार्यान्वयन गराउन निषेधाज्ञा जारी गर्ने र जनतालाई त्रासमा राख्ने कार्य गरेर सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको उनको आरोप छ । साथै नेता खाँणले राजधानी सार्ने निर्णयको विरोध कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया