दशैंको मुखमा व्यापारीलाई लकडाउनकै चिन्ता, भन्छन्–‘नयाँ सामान हाल्ने अवस्था छैन’

काठमाडौं । काठमाडौंमा लकडाउन, सटडाउन र निषेधाज्ञापछि व्यापारिक केन्द्रमा चहलपहल बढेपनि सरकारले लकडाउन गर्ने नगर्ने स्पष्ट धारणा नबनाईदिँदा चाडवाड नजिक व्यापारीहरुले नयाँ सामान ल्याउन छाडेका छन् । व्यापारीहरुले पुनः लकडाउन हुने हल्लाले नै व्यापार नहुने भएकाले नयाँ सामान पसलमा ल्याउन छाडेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ७ गते सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न सिफारिस गरेको थियो । ७ गते बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गरेको छ ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे हालको स्वास्थ्यसम्बन्धी पूर्वाधार र जनशक्तिले व्यवस्थापन गर्न कठिन हुने भएकाले यस्तो सिफारिस गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालको हिजोसम्मको संक्रमितको संख्या हेर्ने हो भने २१ हजार ३ सय २ जना रहेका छन् । प्रतिदिन सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । यसैगरी वृद्धि हुँदै जाने हो भने २५ हजार पुग्न धेरै समय नलाग्ने देखिन्छ ।

सर्वसाधारण लकडाउनको कारणले भोकै मर्ने अवस्था आएपछि सरकारले निषेधाज्ञा खोलेर देशैभर सार्वजनिक यातयात सञ्चालन गर्न दिएपछि जनजीवन समान्य बन्दै गएको १८ दिन भएको छ । जनजीवन सामान्य हुँदै गएको अवस्थामा केही दिनअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्रिय संक्रमित २५ हजारभन्दा धेरै भए पुनः लकडाउन सिफारिस गरेकोे बताएका थिए ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले नै २५ हजार बढी सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेपनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पुनः लकडाउन नहुने बताएका छन् । गत शुक्रबार व्यवसायिक प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री ढकालले पुनः लकडाउन नहुने बताएका छन् ।

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को एक प्रतिनिधि मण्डलसँग कुरा गर्दै मन्त्री ढकालले लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको बताउँदै सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको जानकारी गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स, रेष्टुरेन्ट तथा वार एशोसिएसन, होटल एशोसिएसन र नेपाल उद्योग परिसंघ लगायतले अब पनि पुनः लकडाउन गरेर नहुन बताउँछन् ।

मन्त्री र प्रवक्ताको कुरा बाझियो

लकडाउन गर्ने नगर्ने विषयमा स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयका प्रवक्ताको कुरा नै बाझिएको छ । मन्त्रीले अब पुनः लकडाउन हुँदैन भनेर उद्योगी व्यापारीहरुलाई आश्वस्त बनाईरहँदा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नै केही दिनअघि २५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन हुने बताएका थिए ।

मन्त्री र प्रवक्ताकै कुरा बाझिदा उद्योगी, व्यवसायी, व्यापारी र सर्वसाधारण भने पुनः लकडाउन हुने हो कि भनेर क्रसित छन् ।

काठमाडौंको व्यापारिक केन्द्र दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेललगायतका व्यापारीहरुले पुनः लकडाउन हुनसक्छ भन्दै पसलमा नयाँ सामान ल्याउन छाडेका छन् । खासगरी दशैं तिहास लक्षित नयाँ सामानहरु उनीहरुले पसलमा हालेका छैनन् । अहिले त्यहाँका पसलहरुमा लत्ता कपडा, जुत्ता चप्पल तथा अन्य घरायसी सामानहरु गत वर्षकै रहेका छन् ।

महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका सुनिल महर्जनले बजारमा नयाँ सामान आए पनि आफुले पसलका लागि नल्याएको बताए । उनी भन्छन्–‘सरकारले २५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्ने भनेको छ, यस्तो समयमा समान थपेर के गर्नु, बिक्री पनि छैन ।’

न्यूरोड जुत्ताचप्पल पसल सञ्चालक अमिर लामापनि यसपालीको दशैं तिहारमा जुत्ता चप्पल विक्रि हुनेमा शंका गर्छन् । उनले पनि दशैंका लागि नै भनेर नयाँ सामान नथपेको बताए । ‘दशैं नजिकियो भनेर के गर्ने फेरी लकडाउन हुन्छ भन्ने सुनेको छु । व्यापार पनि छैन । लोनमाथि लोन थपेर नयाँ सामान थप्न सक्ने अवस्था छैन ।’ उनले भने ।

असनमा फेन्सी पसलक सञ्चालन गर्दै आएका राम यादबले पनि दशैं तथा तिहार नजिकिँदै गर्दा नयाँ सामान नथपेको बताए । यादब भन्छन्–‘अब फेरी लकडाउन भयो भने काठमाडौंमा बस्न नसकिने अवस्था आउँछ, ७ महिनासम्म पसल बन्द गरेर घरमा बसियो, खुलेको १ महिनामा व्यापार भएको छैन ।’

तर नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भने होलसेलहरुको राम्रो व्यापार भएको तथा खुद्रा पसलहरुको भने दशैंको ४/५ दिन अघिदेखि मात्रै राम्रो व्यापार हुने बताए । उनी भन्छन्–‘व्यापार राम्रो हुँदै गइरहेको छ, बजारमा सामान पनि पर्याप्त मात्रामा छ, व्यापारीले भनेजस्तो बजारमा नयाँ सामान नै हाल्न छाडेका छैनन् ।’

नेपाल व्यापार संघका उपाध्यक्ष तथा चाहाना भोटाहिटी व्यापार संघका आजिवन सदस्य हरि गौतमले लकडाउन खुलेपनि व्यापार बन्द जस्तै रहेको बताए । उनले भने–‘व्यापार बन्द जस्तै छ, पसल खोल्ने र बस्ने मात्रै हो, ग्राहक आउँदैनन् ।’ व्यापार नभएपछि व्यापारीहरुले नयाँ सामान पसलका लागि नथपेको बताए ।

प्रतिक्रिया