रूपन्देहीमा निषेधाज्ञा ताेड्दै ‘राजधानी प्रस्ताव’ विराेधमा बिहानैदेखि प्रदर्शन

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेपनि बिहानैदेखि प्रदर्शन सुरू भएकाे छ । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको हाे ।
प्रदेश ५ काे राजधानी बुटवल हुनुपर्ने माग राख्दै नेपाली कांग्रेसले शुक्रबारदेखि नै ‘भालुवाङ’ राजधानी प्रस्तावकाे विराेध गरिरहेकाे छ । शुक्रबार र शनिबार बुटवलमा ताेडफाेड समेत भएकाे थियाे ।
यसैलाई मध्येनजर गर्दै त्यहाँकाे स्थानीय प्रशासनले निषेधाज्ञा लगाएकाे हाे । निषेधित क्षेत्रमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गर्न पाइँदैन भनिएकाे थियाे तर निषेधाज्ञा ताेड्दै रूपन्देहीका विभिन्न ठाउँमा प्रदर्शन भएकाे हाे ।
निषेधाज्ञा र बन्दका कारण सडकमा सार्वजनिक र निजी कुनै पनि गाडी चलेका छैनन् । यद्यपी प्रर्दशनकारीहरुले रुपन्देहीको तिलोत्तमा, सैनामैना, भैरहवा लगायतका विभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन् ।








