संसदीय भूमिकालाई बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ बनाउँदै

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ ।

नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा यससम्बन्धी कार्ययोजनाबारे जानकारी दिएकी हुन् ।

उपनेता अर्यालले संसद्मा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनुपर्नेमा जोड दिइन् । उनले राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ‘फ्युजन’ बाट पार्टीलाई सही मार्गनिर्देशन प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

पार्टीले विज्ञहरूको रुचि र दक्षताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र सोही आधारमा विज्ञहरूको ‘रोस्टर’ तयार गर्ने प्रक्रिया सुरु गरेको छ । अर्यालकाअनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न ‘क्लस्टर’ मा विभाजन गरिनेछ । संसद्मा सांसदहरूले राख्ने धारणालाई थप ओजनदार र तथ्यपरक बनाउन एउटा ‘इस्यु कलेक्सन सेन्टर’ (मुद्दा संकलन केन्द्र) समेत स्थापना गरिने जानकारी उनले दिइन् ।

उक्त केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न मद्दत पुर्याउनेछ ।

उपनेता अर्यालले भनिन् ‘साथीहरूका विश्लेषण, सुझाव र विज्ञतालाई पार्टीको कामसँग कसरी प्रभावकारी रूपमा जोड्न सकिन्छ भन्ने विषय आजको छलफलको मुख्य उद्देश्य हो । जनताका समस्या र आवाजलाई सरकारसम्म पुर्याउने सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनामा पार्टीको स्पष्ट दृष्टिकोण निर्माण गर्ने र सरकारलाई आवश्यक खबरदारी गर्ने गरी हाम्रा आवाजलाई अझ तथ्यपरक, तार्किक र प्रभावशाली कसरी बनाउन सकिन्छ भन्नेमा हामी केन्द्रित हुन चाहन्छौँ । पार्टी निर्माण र संसद्को प्रभावकारी भूमिकाका लागि विज्ञ साथीहरूको ज्ञान, अध्ययन र अनुसन्धानलाई उपयोग गर्न आवश्यक छ । यहाँ उपस्थित साथीहरूबाट हामीले संसद्का तर्क, बहस र नीति निर्माणलाई थप प्राज्ञिक, बौद्धिक र तथ्यमा आधारित बनाउन सहयोगको अपेक्षा गरेका छौँ । आज हामीले राजनीतिक अनुभवबाट खारिएका नेतृत्व र अध्ययन–अनुसन्धानबाट विज्ञता हासिल गरेका बौद्धिक साथीहरूलाई एउटै स्थानमा जोड्ने प्रयास गरेका छौँ । यी दुई शक्तिको संयोजनबाट पार्टीलाई आवश्यक मार्गदर्शन प्राप्त हुने विश्वास लिएका छौँ । विज्ञ साथीहरूको रुचि र विशेषज्ञताका क्षेत्र पहिचान गरी रोस्टर तयार गरिनेछ । त्यसपछि विषयअनुसार समूह बनाएर नियमित छलफल र सुझाव संकलनको व्यवस्था गरिनेछ । तथ्यमा आधारित विषय र जनसरोकारका मुद्दा संकलन गर्न छुट्टै संयन्त्र पनि निर्माण गरिनेछ ।’

उपनेता अर्यालले जनताको आवाज सरकारसम्म पुर्याउने र सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन एमालेको भूमिका प्रखर हुनुपर्ने बताइन् । उनले पार्टीको दृष्टिकोणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =