रुसले बनाएकाे कोरोनाविरुद्धको खाेप नेपाल ल्याइने, २ करोड ५० लाख डोज दिने सहमति

काठमाडौं । विश्व महामरीका रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट उन्मुक्ति पाउन विश्व नै प्रयासरत् छ । कयाैँ देशहरूले संक्रमण फैलन नदिन विभिन्न उपायहरू अपनाइरहेका छन् । कति देशहरू भ्याक्सिनकाे तयारीमा जुटेका छन् भने कति देशले बनाएर परीक्षण गरिरहेका छन् ।

भ्याक्सिन बनाउने देशहरूमा रूस पनि पर्छ । कयाैँ देशहरूले रूसमा बनेकाे भ्याक्सिन खरिद गर्ने घोषणा गरिसकेका छन् भने रूसले पनि दिने प्रतिबद्धता जनाइसकेको छ । यस्तैमा रूसले नेपालकाे एक औषधि वितरक कम्पनीलाई पनि भ्याक्सिन दिने सहमति गरेकाे छ । रुसको द रसियन डिरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ) ले नेपालको एक प्रमुख औषधि वितरक ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ दिने सहमति गरेको हाे ।

आज (मंगलबार) आरडीआइएफले विज्ञप्ति निकाल्‍दै नेपालको ट्रिनिटी फर्मास्युटिकलसँग २ करोड ५० लाख डोज ‘स्पुतनिक भी’ दिने सहमित भएको जनाएको हो । यो भ्याक्सिन ७५ अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिक पब्लिकेसनहरुले प्रमाणित गरेको र २५० क्लिनिकहरुमा समेत परीक्षण भइसकेको दाबी गरिएको छ ।

रूसी प्रत्यक्ष लगानी कोषका सीईओ किरल दिमित्रीभले भनेका छन्- ‘नेपालको ९० प्रतिशत जनसंख्‍यालाई स्पुतनिक भी पुर्‍याउने ट्रिनिटी फर्मासिटिकललाई धन्यवाद । स्पुतनिक भी खोप मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा सिर्जना गरिएको थियो, यसले दीर्घकालमा कुनै नकारात्मक प्रभावहरू प्रमाणित गरेको छैन । कोरोना भाइरस संक्रमण हाम्रो साझा दुश्मन हो, जुसलाई हामी सबैकाे सामूहिक प्रयासबाट मात्रै पराजित गर्न सकिन्छ ।’

यस्तै ट्रिनिटी फार्मास्यूटिकल्सका निर्देशक किशोर अधिकारीले भने, ‘ट्रिनिटी स्पुतनिक भि को अन्तिम परीक्षणको नतिजाकाे पर्खाइमा छाैँ । यो खोप नेपाल सरकारबाट स्वीकृत गराइ नेपालीका लागि उपलब्ध गराउनेछौँ ।’

अमेरिकादेखि ब्राजिलसम्म किन्न इच्छुक

आरडीआइएफले निकालेकाे विज्ञप्तिमा अमेरिकादेखि ब्राजिलसम्म उक्त भ्याक्सिन किन्न इच्छुक रहेकाे बताइएकाे छ ।  एसियाका करीब ५० देश, मध्‍य पुर्व, ल्‍याटिन अमेरिका, युरोप र सीआइएसले स्पुतनिक भीका लागि आवेदन दिएको आरडीआइएफले जनाएको छ ।

साथै मेक्सिकोमा ३ करोड २० लाख डोज, ब्राजिलमा ५ करोड डोज, भारतमा १० करोड डोज र उज्वेकस्तिानमा ३ करोड ५० लाख डोज निर्यात गर्ने सहमति भइसकेको समेत बताइएकाे छ ।

करिब एक महिना अघि मेक्सिकाेका राष्ट्रपति एन्ड्रिस मनुएल लोपेज ओब्राडोरले पनि रूसको भ्याक्सिन लगाउन आफू तयार रहेको बताएका थिए । मेक्सिकोका राष्ट्रपति ओब्राडोरले भनेका थिए, ‘यदि रूसी खोप प्रभावकारी साबित भयो भने म आफैँ भ्याक्सिन लगाउन अगाडि आउने छु ।’

यस्तै यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफू रूसी खोप लगाउन तयार रहेको बताएका थिए ।

विश्‍वको पहिलो कोरोनाविरुद्धको भ्‍याक्सिन

‘स्पुतनिक भी’ विश्‍वको पहिलो कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्‍याक्सिन भएकाे बताइएकाे छ । उक्त भ्‍याक्सिनलाई भेक्टर प्लेटफर्ममा ल्‍याइएको छ । ११ अगस्टम, २०२० मा विकास गरिएको ‘स्पुतनिक भी’लाई पहिलो पटक गामालेया राष्ट्रिय रिसर्च इन्स्टिच्‍युट अफ इपिडिमियोलोजी र माइक्रो बायोलोजीले रुसको स्वास्थ्‍यमन्त्रालयमा दर्ता गरेका थिए ।

ल्‍यानसेटमा प्रकाशित उक्त मेडिकल रिपोर्टमा करीब ४० हजार व्‍यक्तिलाई स्वयसेवी रुपमा स्पुतनिक भ्‍याक्सिनको परीक्षण गरी शतप्रतिशत नतिजा आइसकेको देखाएको छ। यस्तै गरीब ६० हजार स्वयमसेवकहरुले उक्त भ्‍याक्सिनका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया