मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

डलर देखाई ५ लाख लुट्ने खेल बहादुर र रेल बहादुरसहित पाँच पक्राउ

 

भक्तपुर । सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौँ धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३६ वर्षीय खेल बहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्नेहरू सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भएका ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।

लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद २ लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, ५ थान मोबाइल, २ थान मोटरसाइकल र २ बण्डल डलर भनी झुक्काउन तयार गरिएको कागजको बिटो समेत प्रहरीले बरामद गरेको हो ।

साथै २०७७ साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका–९ र ५ बाट ७ लाख रुपैयाँ, २०७७ भदौ ३१ गते मध्यपुर ठिमी नगरपालिका–२ बाट ५ लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका–९ बाट ९ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरू उपर आवश्यक अनुसन्धान भइरहेको तथा अन्य लुटपाटका घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरूको खोजी गरिरहेको परिसरले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...