मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरु

काठमाडौं ।

‘आवश्यकता र समयको मागअनुसार संविधान संशोधन गर्न सकिन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवश्यकता र समयको मागअनुसार संविधान संशोधन गर्न सकिने बताएका छन् ।

‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका विषयमा यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने समेत बताएका हुन् ।

‘प्रधानमन्त्री ओली अज्ञानता र अहंकारको ककटेल’ 
पूर्व प्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अज्ञानता र अहंकारको ककटेल भएको टिप्पणी गरेका छन् ।

भट्टराईले कोभिड–१९ को व्यवस्थापनमा असफलताको कारण सरकार र प्रधानमन्त्री केपी शर्मा ओली भएको टिप्पणी गरे ।

साथै प्रधानमन्त्री ओलीले कोभिडको गम्भीर्ता बुझ्न नसकेको पनि बताए । बुझ्न नसक्नुको कारण ओलीको अहंकार र अज्ञानता भएको भट्टराईको टिप्पणी छ ।

उनले प्रधानमन्त्रीले हाछ्युँ गरेर जान्छ भन्ने शैलीको प्रचार गर्नु गलत भएको टिप्पणी पनि गरेका छन् ।

आजको कोरोना अपडेटः ७ जनाको मृत्यु, आजै थपिए २ हजार बढी संक्रमित
नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये ८ सय ५९ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।

‘भारतसँग छिट्टै वार्ता हुन्छ’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् ।

प्रेस संगठन नेपाल, रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले विकासका विषयमा भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको पनि बताएका छन् ।

भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरेका छन् ।

पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित
आजका लागि तय भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ ।

बिहान ११ बजे पेरिसडाँडास्थित कार्यालयमा बस्ने तय भएको बैठक आइतबारका लागि सारिएको हो ।

पार्टी एकता पहिलो पटक पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिस डाँडामा बैठक बस्ने निर्णय नेकपाले गरेको थियो ।

अब आइतबार बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषय, एमसीसी, संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

वामदेवलाई सांसद बनाएकोमा साझा पार्टीको आपत्ति, हारेकालाई मन्त्रिमण्डलमा नलैजान आग्रह
प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले आपत्ति जनाएको छ ।

राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको उसको ठहर छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याइए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ सरकारलाई सचेत समेत गराइएको छ ।

जनकपुर आइपुग्यो नेपाली रेल, हेर्नेको भीड भिडियोसहित
जनकपुर–जयनगर रेल जनकपुरधाम आइपुगेको छ । भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुईसेट रेल जनकपुरधाम आइपुगेको हो ।

पहिलो चरणमा जनकपुर–जयनगर रटमा सञ्चालनको लागि उक्त दुईसेट रेल निर्माण कम्पनीले रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगर रटमा सञ्चालनको लागि उक्त दुईसेट रेल निर्माण कम्पनीले रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको हो ।

संक्रमणलाई गम्भीर रुपमा लिन युरोपलाई विश्व स्वास्थ्य संगठनको चेतावनी
विश्व स्वास्थ संगठनले युरोपमा बढ्दो संक्रमितहरुको संख्याले खतराको घण्टी बजेको भन्दै यसलाई गम्भीर रुपमा लिन चेतावनी दिएको छ ।

आधाभन्दा धेर युरोपेली देशहरुले पछिल्ला दुई सातामा १० प्रतिशतभन्दा धेरैले संक्रमितको संख्या बढेको संगठनले जनाएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार बेलायतमा ४१ हजारभन्दा धेरै, इटलीमा ३५ हजारभन्दा धेरै, फ्रान्समा ३१ हजारभन्दा धेरै र स्पेनमा ३० हजारभन्दा धेरैको मृत्यु कोरोनाका कारण भएको छ ।

बुन्डेसलिगा आजबाट, बायर्न र साल्केबीच प्रतिस्पर्धा हुँदै
जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख र साल्केबीच प्रतिस्पर्धा हुँदैछ ।

बायर्नको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः१५ बजे सुरु हुनेछ । एलिनाज स्टेडियममा बायर्न सुखद् सुरुवात् गर्ने लक्ष्यसहित मैदान उत्रिने छ ।

बायर्नले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो । बायर्नले बोरुसिया डर्टमण्डलाई १३ अंकले पछि पार्दै उपाधि जितेको थियो ।

राष्ट्रपतिका उम्मेदवार बाइडेन भन्छन्– ‘खोप र वैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नू’
अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको र त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे ।

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र बाइडेनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

भिडिओ यहाँ छ–

प्रतिक्रिया