वीपीका कालजयी विचारले राजनीतिक नेतृत्वलाई प्रेरणा प्राप्त होस्

देश र अझ भनौं नेपाली कांग्रेसका लागि वीपी विचार सबैभन्दा महत्वपूर्ण तत्व हो । वीपीको आदर्श, मूल्य र मान्यता अहिले पनि कांग्रेस मात्रै होइन, देशकै लागि सान्दर्भिक छ । तर अहिलेको पुस्ताले वीपीको विचार बिर्सिँदा देशमा स्वार्थको राजनीति मौलाएको छ भने उनले स्थापना गरेको नेपाली कांग्रेस कमजोर बन्दै गएको छ ।

मुलुक संविधानको पूर्ण कार्यान्वयनसँगै संघीयताको उचित व्यवस्थापनको महत्वपूर्ण घडीमा रहेको यो बेलामा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउनुको विकल्प छैन । तीन जना राजाहरु त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शासन भोगेका र राणा शासक तथा पञ्चायती शासकहरुबाट जतिसुकै कठोर यातना पाउँदा पनि कहिल्यै नझुकेका वीपी आफ्नो विचार र सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग रहे ।

राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान रहेका वीपी कोइरालाले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिएर स्थापित गरेको बाटो वास्तवमा प्रजातान्त्रिक समाजवादको बाटो हो । पूँजीवादी राज्य व्यवस्थाका कडा आलोचक वीपी पूँजीवादी व्यवस्थालाई तीव्र उपभोक्तावादी, अनैतिक र शोषणमा आधारित मान्थे । आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको खाँचो हो भन्नेमा वीपी स्पष्ट थिए ।

को हुन् वीपी कोइराला ?
वीपी कोइराला नेपाली राजनीती र साहित्य क्षेत्रमा कुनै नौलो नाम होइन । काँग्रेसका संस्थापक नेता कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा भएको हो ।जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय रहेका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसद्मा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा-काँग्रेस सरकारमा बिपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए ।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

वीपीको साहित्यिक व्यक्तित्व
क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवम् ‘बाब, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

बिपीले लेखेका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए ।

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसदका सभामुख एवम् मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पुर्याएको छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, काँग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

राजनीतिक नेतृत्वले के सिक्ने ?
जीवनभर देश र जनताकै लागि संघर्ष गर्दै अटुट रुपमा सत्ताको विपरित धारमा उभिइरहने वीपी निर्भिक नेता थिए । राष्ट्रिय शक्तिहरूबीचको बलियो एकताले मात्र बाह्य हस्तक्षेप रोकिन्छ र राष्ट्र स्वाधीन हुन्छ भन्ने मान्यता जननायक वीपी कोइरालाको थियो । राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता र सद्भाव धेरै ठूलो कुरा हो भन्ने उनको दृढ मत थियो । तर समकालीइन नेतृत्वले त्यसलाई पछ्याउन सकिरहेको छैन ।

वीपीको परिकल्पनाको प्रजातान्त्रिक समाजवादको रिभिजिट गर्ने बेला भएको छ । स्थिति बदलिएको छ, भन्ने नाममा समाजवादी मूल्यहरूलाई नै तिरष्कार गरेर नवउदारवादका सामु आत्मसमर्पण गर्ने कुरा जत्ति हानीकारक छ । देश र जनताको हितका लागि समाज, त्यस समाजका विविध संस्कृति र सभ्यता, आर्थिक, शैक्षिक परिवेश, सामाजिक न्याय प्रणालीका विषयमा वीपीको दृष्टिकोण अनुकरणीय रहेको छ ।

अब सारमा भन्ने हो भने वीपी कोइरालाका सोच र विचार आधुनिक नेपाल निर्माणका लागि मार्गदर्शन हुन सक्छन्, तर अहिलेको नेकाको नेतृत्व र कार्यकर्ता पंक्तिले यो सच्चाइलाई ग्रहण गर्ने र आफूलाई बदल्ने, समाज बदल्ने र समाजवादी नेपाल निर्माण गर्ने वीपीको सपना पूरा गर्ने मार्गमा अग्रसर हुन जरुरी छ ।

वीपी जयन्ती मनाइरहँदा उनका कालजयी विचार र सन्देशलाई ग्रहण गर्दै राष्ट्रियता, सामाजिक सद्भाव र स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर निर्णयमा पुग्न वर्तमान राजनीतिक नेतृत्वलार्ई प्रेरणा प्राप्त होस् भन्ने कामना गरौं । वीपीका विचारको प्रेरणा उनका अनुयायीहरूलाई मात्र होइन, वर्तमान सत्ताधारीहरूलाई पनि उत्तिकै आवश्यक छ ।

वीपी कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि !

प्रतिक्रिया