धरानका मेयरलाई बचाउन वन समूहका पदाधिकारीहरु !

धरान । मेयर तिलक राईले भालढुंगा सामुदायिक वन समूहभित्रको सखुवाको रुख काटेको विषयमा वन उपभोक्ता समितिका पदाधिकारीहरु नै विभक्त भएका छन् । वन समूहका ९ जना कार्यसमितिमध्ये ८ जना मेयर तिलक राईकै पक्षमा उत्रिँदा अध्यक्ष बुद्धिमान तामाङ एक्लिएका छन् ।

बैठकमा उनको कुरै नसुनी एकतर्फी निर्णय गरेपनि उनले आफू सत्यको पक्षमा रहेको बताउँदै आफ्नो अडानबाट पछि नहट्ने बताए । ‘अस्तिसम्म मेयर कोषाध्यक्षकै मिलेमतो र संलग्नतामा रुख काटेको हो भन्नेहरु हिजोको बैठकमा मेयरको पक्ष लिएर बोले । मलाई राम्ररी बोल्न पनि दिएनन् ।’ अध्यक्ष तामाङले भनेका छन् ।
♣ धरानका मेयरको ज्यादतिः आमालाई घर बनाईदिन जवरजस्ती सखुवाको रुख काटे
♣ सखुवाको रुख कटान काण्डः रुख काट्न धरानका मेयर तिलक राईले स्करपियोमा हालेर मान्छे लगेका थिए !
♣ प्रतिशोध साँध्ने उद्देश्यले नाम जोडिएको धरानका मेयरको प्रष्टोक्ति 
उनले मकालु खबरसँग मेयरको प्रलोभनमा परेर कुरा फेरेको हुन सक्ने समेत बताए । ‘अस्तिसम्म रुक काटेकै हो भन्नेहरुले किन रातारात कुरा फेरे भन्दा मेयरको पैसा खाए होलान् । नत्र त्यत्रा मान्छेहरुको अगाडि मेयरले गल्ती भयो भन्दा आज त्यसकै पक्षमा किन लाग्थे र !’ उनले भनेका छन् ।

भदौ १३ गते धरान उपमहानगरपालिकाका मेयर तिलक राई आफैँले स्करपियोमा रुख काट्ने मान्छेहरु ल्याएर उक्त सामुदायिक वन समूह अन्तरगतको ब्लक नम्बर २० ढुङ्गेपानी सिरान भन्ने स्थानमा सखुवाको रुख काट्न लगाएको वन समूहका अध्यक्षसहित प्रत्यक्षदर्शीको भनाइअनुसार किटानी जाहेरी दिएपनि वन समूहका ८ जना पदाधिकारीहरुले असहमति जनाएपछि ‘मेयरको रुखकाण्ड’ मा अध्यक्ष कमजोर भएका छन् ।

समूहको हिजो आइतबार बसेको बैठकमा सहभागी ९ जनामध्ये पाँच जनाले मेयर तिलक राईकै निर्देशनमा रुख काट्न लगाएको सत्य भनेर ठोकूवा गर्न नमिल्ने राय दिएका छन् ।

उनीहरुले ‘सामुदायिक वनभित्रको रुख को–कसले कुन प्रयोजनको लागि, कसको आदेशमा काटेको हो हामीलाई थाहा छैन ।’ भनेका छन् ।

समितिका कोषाध्यक्ष भीम बस्नेत सहित चन्द्रकला मगर, भुवनसिंह राई, रीता राई र आइतीमाया राईले माइन्युटमा हस्ताक्षर गर्दै रुख कटान गरीएको ठाउँको अनुगमन गरिएको र कसले गरेको खोजी भइरहेको र पहिचान नभएकोले कारवाही नभै सकेको जिकिर गरेका छन् ।

उनीहरुले कतिपय मानिसहरुले रुख कटान कार्य मेयर तिलक राईको निर्देशन र भीम बस्नेतको रोहवरमा कटान गरेको सुन्नमा आएको देखिएको छैन पनि निर्णय गरेका छन् ।

भने, रुख कटान सम्बन्धमा सम्बन्धित निकायमा खबर गर्नु अगावै मिडियामा आएको र त्यसमा आफ्नो संलग्नता समेत नरहेको उल्लेख गरेका छन् । अन्य ४ जनाले रुख कसको संलग्नता र निर्देशनमा कटान भएको थाहा नभएको भन्दै छुट्टै जवाफ पठाएका छन् ।

रुख कसले काट्यो थाहा हुन नसकेको भन्दै फरक जवाफ पठाउनेहरुमा सदस्य दिवस वालाखाम, भीम परियार, शान्ति कटुवाल रहेका छन् । दुई जना सदस्यहरु फणीमाया राई र कमला राई उपस्थिति छैनन् ।

वन समूहका अध्यक्ष बुद्धिमान तामाङले भने कार्यसमितिका ५ जनाको भनाइप्रति असहमति जनाउँदै ‘मिति २०७७ भदौ १४ गते बेलुकी मैले गल्ती गरेँ भनी माफ माग्नु गल्ती स्वीकार गर्नु’ माइन्युटमा उल्लेख गरेका छन् ।

उनले मेयर राईसँग व्यक्तिगत रुपमा वन समूहका कोषाध्यक्ष भीम बस्नेतको मात्र सहभागिता रहेको जनाउँदै रुख कटानमा वन समूहको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

बिनाजानकारी तस्करीको रुपमा रुख काटिएको गोठालाहरुले देखेको र म अध्यक्षकोमा बेलुकी मात्र जानकारी आएको र उपभोक्ताहरुले हल्लाखल्ला गरी भेला हुने क्रममा मेयर तिलक राई आफैँ आएको अध्यक्ष तामाङले उल्लेख गरेका छन् ।

यता केही स्थानीयहरुले धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रभावमा परेर कार्यसमिति सदस्यहरुले कुरा फेरेको बताएका छन् । ‘बकैदा अडियोमा मेयरले कोषाध्यक्षसमेतलाई लगेर रुख हेरेको भनेका छन् ।

मेयरले सबैका ‘अगाडी रुख काट्न नहुने थियो । काटिइहाल्यो अब दिएर लान्छु नदिए लान्न’ भनेकै हुन् खै के कारणले उहाँहरुले कुरा फेर्नुभयो !’ एक उपभोक्ताले भनेका छन् ।

मेयर राईले भने रुख कटानमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै आएका छन् । यद्यपि, मेयरकै संलग्नतामा रुख कटान भएको आधार मिल्ने अडियो सार्वजनिक भइसकेको छ । जसलाई मेयर राईले आफ्नो भ्वाइस नै नभएको तर्क गरेका छन् ।

वन समूहको कार्यसमितिले सव डिभिजन वन कार्यालय विष्णुपादुकाले भदौ १९ गते पठाएको पत्र अनुसार निर्णय गरेको हो ।
सव डिभिजन वन कार्यालयले समूहलाई वनको रुख के कति कारण र कसले रुख काटेको हो ? तीन दिनभित्र जवाफ मागेको थियो ।

वन डिभिजन कार्यालय विष्णुपादुकाका सहायक वन अधिकृत राजेन्द्र प्रसाद यादवले वन समुहले पठाएको लिखित निर्णय प्रात गरेको जनाउँदै आफुहरुले डिभिजन वन कार्यालय इनरुवामा प्रारम्भिक अनुसन्धानको प्रतिवेदन बुझाइसकेको जानकारी दिए ।

साथै यादवले अब घटनामा अनुसन्धान अधिकृत तोकिन बाँकी रहेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *