मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटलाई वैधानिकता दिने काम भयो: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनैपनि क्षेत्र गतिका साथ अघि बढ्न नसकेको तर्क समेत गरे ।

अध्यक्ष ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भएपनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए । उनले आम जनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने दाबी समेत गरे ।

अध्यक्ष ओलीले भने ‘खेलाडीहरूमा देशभक्ति चाहिन्छ । देशको प्रतिष्ठाका लागि खेलाडीहरूले कसरी ज्यान फालेर खेलेका हुन्छन् । हामी हरेकमा देशभक्ति चाहिन्छ । हामीले त्यसलाई बुझ्नुपर्दछ । देश विकसित भएन भने मलाई खेलसँग मतलब छ अर्थोक भनेर देश नै बर्बाद छ भने खेल मात्रै कसरी अघि बढ्छ र । नेपालको हालत त्यही भएको त हो । हामीले देशलाई अगाडि बढाउन खोज्यौ । भुईँचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौ । कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौ । अर्थतन्त्री ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ । र विभिन्न क्षेत्रहरू शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र अनेकलाई हामीले यत्नपूर्वक अघि बढाउने प्रयास गर्यौँ । तर त्यो कुरा सैह्य भएन । विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले, ढाल्न नसकेपछि असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समातियो । त्यसलाई वैधानिकता दिने काम भएको छ । तर देशलाई हामी फेरि शान्तिपूर्ण नेपाल, भयमुक्त नेपाल, साँच्चै सबै जनताले न्याय पाउने नेपाल, सबै जनतालाई न्याय प्राप्त हुने, सबैलाई माया गर्ने व्यवस्था त्यस प्रणालीबाट फेरी अगाडि बढ्नेछौँ । म साथीहरूलाई त्यही भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =