धरानका मेयरको ज्यादतिः आमालाई घर बनाईदिन जवरजस्ती सखुवाको रुख काटे

धरान । धरान उपमहानगरपालिकाका प्रमुखले अवैध रुपमा सामुदायिक वनको रुख कटान गरेका छन् । धरान नगर प्रमुख तिलक राईले आमालाई घर बनाईदिने भन्दै धरान–२० भालुढुङा सामुदायिक वनमा रहेको सखुवाको काँचो सग्लो रुख काटेका हुन् ।

शनिबार दिउसो उनी आफैं सामुदायिक वनमा पुगेर सग्लो सखुवाको रुख कटान गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बुद्धीमान तामाङले बताए । नगरप्रमुख तिलक राईले घर बनाउन काठ चाहियो भनेर सामुदायिक वन उपभोक्ता समितिमा निवेदन दिएको भएपनि निवेदन अनुसार ढलापला काठ उपलब्ध गराउन छलफल भइरहेकै बेलामा धरानबाट मान्छे ल्याएरै सग्लो रुख ढालेको अध्यक्ष तामाङको भनाई छ ।

 ‘उहाँले घर बनाउन काठ चाहियो भनेर बिहिबार निवेदन दिनुभएको थियो, मेयर जस्तो मान्छेले निवेदन दिएपछि के गर्ने भनेर समितिमा छलफल भयो, त्यसपछि वनमा ढलापला हेरेर काठ उपलब्ध गराउने सहमति अनुसार आइतबार जंगल जाने सल्लाह भइरहेका बेला उहाँले शनिबार आएर रुखै काट्नु भएछ ।’ अध्यक्ष तामाङले भने–‘यो त ज्यादती नै भयो । सग्लो रुख काट्नु हुँदैन भनेर थाहा हुँदाहुँदै जवरजस्ती काट्ने काम भयो ।

उनले वन समुहका कोषाध्यक्ष भीम बस्नेतको समेत संलग्नतामा रुख काटिएको बताउँदै जिकिर गरे । मेयरले काठ मागेपछि आइतबार जंगलमा गएर ढलापला हेरी काठ दिने सहमति भएको अवस्थामा समुहका कोषाध्यक्षको समेत मिलिभगतमा सग्लो रुख काटिएको छ ।

काटिएको रुख १२ टुना रहेको छ । शनिबार बाख्रा गोठालाहरुले जंगलमा मेयर सहितको टोलीले रुख काटेको थाहा पाएपछि उपभोक्ता समितिका अध्यक्षलाई जानकारी गराएका थिए ।

गाउँमा मेयरले नै सग्लो रुख काटेको हल्ला खल्ला भएपछि मेयर हच्किँदै आफुबाट गल्ती भएको स्विकार समेत गरेको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए । ‘काट्नु हुँदैनथ्यो काटि हालें, अब दिए लान्छु नदिए लग्दिन भन्नु भयो । काटिएको रुखको टुना वनमै छ । हामीले वन कार्यालयलाई जानकारी गराएका छौं ।’ उनले भने ।

समितिले हालसम्म कसैलाई काठ काट्न र वितरण गर्ने योजना नबनाएपनि नगरप्रमुख राईले पद र शक्तिको आडमा रुख काटेको स्थानीयहरुको भनाई छ । ‘अरुले यति गरेको भए पाता कसेर लगिसक्थे मेयरलाई कसले छुने र ?’ स्थानीयको आक्रोश छ ।

२० नं. वडाध्यक्ष मणिराम राईले पनि मेयर नै आएर रुख काटेको बताए । ‘मेयरसावको यहाँ मावल हो, उहाँले आमालाई घर बनाइदिनु पर्यो काठ चाहियो भन्नु भएको थियो । समुहले छलफल गरेर काठ दिने भन्दाभन्दै धरानबाटै मान्छे ल्याएर सग्लो रुख काटिएछ ।’ राईले मकालु खबरसँग भने । समुहले जिल्ला वन कार्यालयलाई जानकारी गराएपनि जिल्ला वन कार्यालय समेत मेयरको इशारामा रहेको स्थानीयको आरोप छ । ‘खै अहिलेसम्म वन कार्यालयले कुनै चासो दिएन ।’

सब डिभिजन वन कार्यालय धरानका ज्ञानकुमार लामाले आफु मन्त्रालयको काममा व्यस्त भएकोले घटनाबारे जानकारी दिन नपाएको बताएका छन् । यता नगरप्रमुख राईले भने आफुले रुख नकाटेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *