विद्यालय सञ्चालककाे ज्यादती : खुट्टा भाँचिदिएर उल्टै उन्मुक्ति

नवलपरासी पूर्व । शुल्कको विषयमा भनाभन हुँदा नवलपरासी पूर्वका एक विद्यालय सञ्चालकले अभिभावकमाथि कुटपिट  गरेका छन् । उज्जवल शिशु सदनका सञ्चालक दीपक कुँवरले विद्यार्थीका अभिभावक विनय त्रिवेणी गाँउपालिका ७ का ५२ वर्षीय कृष्ण प्रसाद आचार्यमाथि निर्मम कुटपिट गरेका हुन् ।

कुँवरकाे कुटाइबाट आचार्यकाे खुट्टा भाँच्चिएकाे छ । यद्यपी उनीमाथि कुनै कारवाही भएको छैन । उनले राजनीतिक पहुँचको आधारमा उन्मुक्ति पाइरहेकाे पीडित परिवारकाे गुनासाे छ ।

गत २८ साउनमा शुल्क नतिरेको भन्दै कुँवरले आचार्यमाथि कुटपिट गरेका थिए । उनी अहिले बुटवलमा उपचाररत छन् । सामान्य कृषक आचार्यलाई लामो समयदेखि किन शुल्क नतिरेको भन्दै सञ्चालक कुँवरले धम्क्याएपछि वादविवाद भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

लामो समयको लकडाउनका कारण हाललाई आधा रकम बुझ्न गरेको आग्रह दुत्कारेपछि भएको वादविवादले उग्र रुप लिँदा सञ्चालक कुँवरको कुटपिटले सख्त घाइते भएका आचार्यको खुट्टामा शल्यक्रिया गरेरै उपचार भइरहेकाे छ । राजनीतिक दबाबको जगमा सञ्चालक कुँवरले उन्मुक्ति पाएपनि घटना जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वमा दर्ता भएको छ ।

पीडितले दिएको जाहेरी बमोजिम पीडक कुँवरलाई प्रहरीले पक्राउ गरी कारबाही नगरिएको भन्दै छोरा आचार्यले न्यायको गुहार मागेका छन् । ‘खुट्टा भाँच्चिएकाे छ । लामो अस्पताल बसाईँ छ । तर, पीडक खुल्लमखुला हिँडिरहेका छन् । प्रहरी केही दलका नेताको पहुँचका कारण न्याय नपाइने भो, हामी लड्न भने छोड्दैनौँ, ’ उनले भने ।

पीडक विद्यालय सञ्चालक कुँवर भने समाजको अगाडि गल्ती गरेको स्वीकार्दै नेताहरुको साथमा उन्मुक्ति खोजिरहेका छन् । ‘स्थानीय कुरा मिलाउन खोज्नु कुन ठूलो कुरा भो । म भागेको छैन’, उनको भनाइ छ ।

यता पीडक कुँवरलाई माथिको पहुँचका आधारमा पक्राउ नगरिएको प्रहरी स्राेत बताउँछ । शिक्षा क्षेत्रका व्यक्तिहरुको यस किसिमको हर्कत अशोभनीय रहेको भन्दै दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति हुनुपर्ने अधिकारकर्मी बाबुराम गिरी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *