कति संक्रमित छन् आइसियु र भेन्टिलेटरमा ?

काठमाडौं । पछिल्लो केहि हप्तायता नेपालमा कोरोना भाइरस संक्रमित र यसका कारण हुने मृत्युदर बढेको छ । कोरोना संक्रमण नघट्दै सरकारले जारी लकडाउन अन्त्य गरेपछि संक्रमित बढेका हुन् ।

देशका ठूला सहरमा संक्रमित बढ्न थालेपछि कोरोना विशेष अस्पताल भरिए छन् । संक्रमित बढ्दै जाँदा बेला बेलामा बेड अभाव हुने चेतावनी दिंदै आएको सरकारले निजी अस्पताल गुहारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन आग्रह गरेको छ । काठमाडौं उपत्यका लगायतका विभिन्न अस्पतालहरूमा बेड अभाव भएको भन्दै संक्रमितको उपचार गर्न निजी अस्पताललाई २० प्रतिशत बेड छुट्याउन मन्त्रालयले भनेको हो ।

संक्रमितलाई कोभिड अस्पतालहरूमा राख्न समस्या भएकाले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीहरूको कोरोना पोजेटिभ आएपछि त्यसको व्यवस्थापन हब अस्पतालहरूको संंयोजनमा सोहि अस्पतालहरूमा नै गर्न समेत अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमितलाई उपत्यकाभित्रका अन्य अस्पतालहरूमा पठाउनु पर्ने अवस्था आएमा हब अस्पतालको समन्वयमा मन्त्रालयको अनुमति लिएर मात्र पठाउन अनुरोध गरेको हो ।

अहिले अस्पतालमा भर्ना भएका बिरामीहरूमा कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनविना रेफर भइरहको छ ।

कति छन् आइसियु र भेन्टिलेटरमा ?
मुलुकभरको रहेका कोभिड अस्पतालका आइसियुमा ९८ र भेन्टिलेटर ४ जना संक्रमित उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९ सय ४२ आइसियु र ४ सय ९६ भेन्टिलेटर छन् ।

यसैबीच समुदाय स्तरमा कोरोना संक्रमण पुगे वा नपुगेको यकिन गर्न अध्ययन सुरु गरिने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार केहि दिनमै अध्ययन गर्न लागिएको हो ।

सातै प्रदेशमा गरिने उक्त अध्ययनले कोरोनाभाइरसको रोकथाम-नियन्त्रण तथा भविष्यको रणनीति बनाउन सहज हुने महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेको भनाई छ । यात्रा नगरेका व्यक्तिहरूमा पनि संक्रमण देखिएपछि संक्रमण समुदायमा फैलिसकेको हुनसक्ने उनको आकलन छ ।

दुई साताअघि नै कोरोना संक्रमतिको संख्या उल्लेख्य बढेको वीरगञ्जका चिकित्सकहरूले अध्ययन नभए पनि संक्रमण समुदायमा पुगिसकेको देखिएको दाबी गरेका थिए । यसबारे अध्ययन गर्न केही दिनअघि नै स्वास्थ्य मन्त्रालयबाट निर्देशन पाइसकेको महाशाखाले अध्ययनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिएको छ ।

केही दिनमै सर्वेक्षणकर्ता र प्रयोगशालाका व्यक्तिहरू सम्बन्धित क्षेत्रमा परिचालन हुने निर्देशक डा. पाण्डेले बताए । ‘दुई हप्तामा नमुना सङ्कलन सकिन्छ, त्यसपछि प्रयोगशालामा परीक्षण गर्दा एक महिनामा नतिजा थाहा हुन्छ,’ उनले भने । यो सर्वेक्षण सातै प्रदेशमा गरिने र ६ हप्तासम्म देशभित्रै बसेका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका उमेर समूहमा मानिसहरूलाई सहभागी गराइने बताइएको छ ।

अध्ययनका लागि उमेर हेरेर ३ देखि ५ मिलिलिटर रगत लिइने र त्यसको प्रयोगशालामा परीक्षण गरिने छ । निर्देशक डा. पाण्डेका अनुसार अध्ययनको नतिजाले संक्रमण रोकथाम तथा नियन्त्रणमा रणनीति बनाउन सहज हुनेछ ।

उनले भने, ‘बाहिरै नगएको मानिसलाई छ कि छैन भनेर यो सिरोलजिकल प्रक्रियाबाट हेर्‍यो भने अहिलेसम्म भनेको क्लस्टर मात्रै हो कि समुदायमा पनि संक्रमण गइसकेको छ भन्ने कुरा थाहा हुन्छ ।’ यो सर्वेक्षणबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएरै पनि निको भएका बिरामीबारे पनि विवरण आउने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *