वीपी प्रतिष्ठानमा आज ९ जना नयाँ कोरोना संक्रमित भर्ना

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज ९ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले सोको जानकारी दिएका छन् ।  प्रतिष्ठानमा आजका दिनसम्म ४८ जना कोरोना पोेजेटिभ व्यक्तिहरु उपचारार्थ रहेका छन् । आजसम्म प्रतिष्ठानबाट २८२ जना कोरोनाको उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले नेपाल सरकारले निर्दिष्ट गरेको लेवल –३ अस्पताल भएकोले अस्पतालमा कोरोना संक्रमित ब्यक्तिहरुको तीन प्रकारले उपचार भइरहेको जनाएका छन् ।

उनका अनुसार प्रतिष्ठानमा पहिलो लेवल अनुसार कोरोना संक्रमित तर लक्षण नभएका ब्यक्तिहरु रहेका छन् । उनीहरुलाई आइसोलेसन वार्ड अर्थात एकान्तगृहमा राखिन्छ । ‘उनीहरुलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने नभएता पनि उनीहरुबाट समाजमा र परिवारका अन्य सदस्यहरुलाई कोरोना नसरोस् तथा समाजले हेयको दृष्टिकोणले नहेरोस् भनेर अस्पताल ल्याईएको हो ।’ डा. सापकोटाले भनेका छन्- ‘प्रतिष्ठानमा यस्ता विरामीलाई २४ सै घण्टा सिसिटिभीले निगरानी गरिन्छ, एक ठाउँमा निगरानी स्टेशन वनाइएको छ । र उनीहरु मध्ये कसैमा लक्षण देखिएमा लेवल २ मा सारिन्छ ।’

लेवल २ मा कोरोना संक्रमित र लक्षण भएका तर आइसियू सेवा नचाहिएको अवस्थाका संक्रमितलाई राखिने गरीएको छ । जहाँ हाल केही व्यक्तिहरु रहेको प्रतिष्ठानले जनाएको छ । उनीहरु नियमित चिकित्सकको निगरानीमा रहेका हुन्छन् । जसलाई चिकित्सकहरुले राउण्ड गर्ने, नर्सिङ स्टेसन पनिसँगै हुने र परेको वेलामा तुरुन्त चिकित्सकलाई वोलाउन सकिने व्यवस्था गरिएको प्रतिष्ठानको दावि छ ।

तेस्रो लेवलमा रहेका विरामीहरुलाई भने आइसियूमा राखेर उपचार गर्ने गरीन्छ । प्रतिष्ठान लेवल ३ अस्पताल रहेको छ । यसमा चिकित्सक, नर्स २४ सैं घन्टा उनीहरुको उपचारमा तैनाथ रहने प्रतिष्ठानको भनाई छ । ‘यस वर्गमा पर्ने विरामीलाई डायलाइसिस पनि चाहिन सक्छ र यो सवै सुविधा प्रतिष्ठानमा उपलब्ध छ ।’ प्रतिष्ठानले हाल सम्म ९ जनालाई यो सुविधा प्रयोग गरेको जनाएको छ ।

स्मरण रहोस्, प्रतिष्ठानको कोरोना अस्पतालको आइसोलेसनमा रहेको संक्रमितले मकालु खबरसँग सम्पर्क गरेरै आफुहरुलाई १२ घन्टासम्म पानी समेत खान नदिएको, खाना नदिएको तथा चिकित्सकहरुले एक पल्ट पनि नहेरेको बताउँदै सम्पर्क गरेका थिए ।
योपनि हेर्नुहोस्

वीपीमा कोरोना संक्रमितको बेहाल- संक्रमित भन्छन्, ‘ज्यान मार्न ल्याएजस्तो लाग्दैछ’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *