वीपीमा कोरोना संक्रमितको बेहाल- संक्रमित भन्छन्, ‘ज्यान मार्न ल्याएजस्तो लाग्दैछ’

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ‘कोभिड–१९ अस्पताल’मा राखिएको संक्रमितको बेहाल भएको छ । कोभिड–१९ अस्पतालको लापरबाहीले शुक्रबार त्यहाँ ल्याइएका कोरोना संक्रमितको बेहाल भएको उनीहरुले बताएका छन् ।

संक्रमित बिरामीलाई तातोपानी खान दिनुपर्नेमा चिसोपानीको समेत व्यवस्था नगरिएको एक संक्रमितले मकालु खबरलाई फोन सम्पर्क गरेरै जानकारी दिए ।

‘हामीलाई तातोपानी खुवाउनु पर्नेमा चिसोपानीसमेत समयमा दिइएन’ ती संक्रमितले भने–‘हामीलाई ल्याएको १२ घण्टा बितिसक्यो, न पानी आउँछ न त डाक्टर नै ।’

अस्पतालका बेडमा सरसफाइसमेत नभएको उनको भनाई छ । त्यहाँबाट डिस्चार्ज भएको बिरामीहरुले शौचालयमा गरेको फोहोर अहिलेसम्म सफा गरिएको छैन । ‘सरसफाई छैन । आइसोलेसनभित्र छिर्दा फोहर छरपस्टै हेर्न सकिन्छ,’ उनले भने–‘डस्टबीनको फोहोर फाल्ने स्थान नहुँदा कक्ष बाहिरको प्रवेशद्वारमा फोहोर छरपस्ट थुपारिएको छ । एक नम्बर प्रदेशकै सुविधासम्पन्न कोभिड अस्पताल भनेको थियो, यहाँ त केही पनि रहेनछ ।’

कतिपय संक्रमित ६ दिनदेखि आइसोलेसनमा रहँदा एकपल्ट समेत डाक्टर नर्सहरु हेर्न नआएको अर्का संक्रमितले भने । आफूहरु त्यहाँ बसेदेखि डाक्टर नआएको उनको गुनासो छ । ‘मेन गेटमा ताला लगाएको छ । अस्पतालमा खाना र तातोपानीको त कुरै छोडौं, तीन चार दिनदेखि डाक्टर नर्सको मुख हेर्न पाएका छैनौं ।’ अर्का संक्रमितले भने ।

कोरोनाको उपचार गर्न आएका संक्रमितले आफुहरुलाई अपराधिको जस्तो व्यवहार भएको जिकिर गरे । ‘बाहिरबाट ताल्चा लगाएको छ । भित्र कोही सोधखोज गर्न आउँदैनन् । हामीलाई यहाँ अपराधी सरह थुनेर राखियो, लाग्दैछ यहाँ ज्यान मार्न ल्याएको हो ।’

संक्रमितका अनुसार कोभिड अस्पतालमा बाहिरबाट खानेपानी मगाउन पनि दिइएको छैन । अस्पताल आफैंले अहिलेसम्म पानीको व्यवस्थापन गरेको छैन । पानी नहुँदा शौचालय दुर्गन्धित भएको उनको भनाई छ ।

‘शौचालय आफैं सफा गरौं भनेपनि साधन छैन ।’ उनले थपे–‘कोरोना भाइरसभन्दा पहिला अर्को संक्रमणबाट मरिएला भन्ने डर भो । हामी थुनिएका छौं, डाक्टर आउँदैनन्, अस्पतालले सुन्दैन ?’

प्रतिष्ठानको शौचालयको हालत। तस्वीरः मकालु खबर।

कोभिड–१९ अस्पतालमा अहिले ८ जना संक्रमित छन् । ६ जना शुक्रबार संक्रमण पुष्टि भएपछि ल्याइएको हो भने २ जना उपचाररत थिए ।

यस विषयमा हामीले प्रतिष्ठानको कोभिड अस्पतालका डाइरेक्टर डा. कृष्ण पोखरेलसँग कुरा गर्न खोज्यौं । उनलाई मोवाइलमा कल गर्दा उनले झर्कंदै भनीन्–‘अस्पतालको जतिपनि कुरा छ प्रवक्तालाई सोध्नुस, मलाई हैन ।’

कोरोना संक्रमितले पानीसमेत खान नपाएको विषयमा हामीले डा. कृष्ण पोखरेलकै आदेशानुसार वीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटालाई सोध्यौं । उनले प्रतिष्ठानको कोभिड अस्पताल व्यवस्थापन र विरामीलाई दिने सुविधामा कुनै कसर बाँकी नराखेको जवाफ दिए ।

व्यवस्थापनमा समस्या छैनः प्रवक्ता
प्रवक्ता डा.सापकोटाले ‘कोभिड–१९ अस्पताल’को व्यवस्थापनमा कुनै समस्या नभएको दावी गरे । वर्षौंदेखि प्रतिष्ठानभित्र प्रशोधित खानेपानी रहेको दावि गर्दै सबै कक्षमा पर्याप्त खानेपानी रहेको जिकिर गरे ।

‘प्रतिष्ठानमा वर्षौंदेखि प्रशोधित खानेपानी छ, हामी डाक्टरदेखि बिरामी, कर्मचारी सबैले यहि पानी प्रयोग गरिरहेका छौं,’ ‘उनले भने–‘तातोचिसो जस्तो पनि उपलब्ध छ तर, छुट्टै बिरामीकै लागि भनेर मिनिरल वाटर मगाउन सक्दैनौं ।’

उनले नेपालमा अहिले ९५ प्रतिशत संक्रमितमा लक्षण नदेखिएको बताउँदै बिरामीको हेरचाहमा लापरबाही नगरेको दावी गरे । ‘नेपालमा धेरैजसो संक्रमितमा लक्षण देखिएको छैन,’ उनले भने सामान्य लक्षण भएका बिरामीलाई गर्ने हेरचाह सरकारको मापदण्ड अनुसार गरिरहेका छौं ।’

गम्भिर लक्षण देखिएको बिरामीको लागि छुट्टै वार्डको व्यवस्था गरिएको समेत उनले बताए । ‘सामान्य अवस्थामा विरामीलाई गर्ने नियमित हेरचाह गरेकै छौं, एउटै पिपिईलाई १० हजार पर्ने भएकाले पनि २४ सै घण्टा बिरामीको साथमा रहन सकिँदैन ।’ उनले भने ।

त्यसो त एक महिनाअघि झापाबाट एक नम्बर प्रदेश सरकारको समन्वयमा ल्याइएका कोरोना संक्रमितलाई प्रतिष्ठानले समयमै भर्ना नलिँदा रातभर दर्जनौं कोरोना संक्रमित प्रतिष्ठानको खुल्ला स्थानमा शौच गर्दै बसेका थिए ।

डाइरेक्टरलाई वाइपास
प्रतिष्ठानका उपकुलपतिले अस्पताल निर्देशक डा. गौरिशंकर शाहलाई वाइपास गरेर नियम विपरित कोभिड अस्पतालको जिम्मेवारी डा. कृष्ण पोखरेललाई दिएको प्रतिष्ठानको कार्यकारिणी समितिका एक सदस्यले मकालु खबरसँग भने ।

उनले सरकारी डाक्टरलाई वाइपास गरेर उपकुलपतिले आफूखुशी गरेको आरोप लगाए । ‘तीन महिनाअघि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईबाट कोभिड अस्पतालको तामझामपूर्वक उद्घाटन भयो, कोभिड अस्पतालकै नाममा करोडौं, बजेट ल्याइयो तर, अहिलेसम्म विरामीले स्वास्थ्य सुविधा पाएनन् ।’ उनले नाम उल्लेख नगर्ने शर्तमा मकालु खबरसँग भने ।

उनले कोरोना अस्पताल भवन मर्मत, औषधी उपकरण खरिदमा मात्रै अनियमित तवरले करोडौं खर्च गरेको जिकिर गरे ।
ती कार्यकारिणी सदस्यले प्रतिष्ठानको अस्पताल व्यवस्थापन हेर्ने अस्पताल निर्देशक हुँदाहुँदै उपकुलपतिले अस्पताल निर्देशकलाई वाइपास गरेर अर्कोलाई गैरकानुनी रुपमा डाइरेक्टर बनाएको समेत जिकिर गरे । ‘अस्पताल निर्देशकलाई वाइपास गरीएको छ, अनी फायल सदर गराउने बेला अस्पताल निर्देशकलाई अगाडी सार्छन् । यस्तो गैरकानुनी काम अब हुन दिदैनौं ।’ उनले भने ।

ती कास सदस्यले अस्पताल निर्देशकलाई वाइपास गरी कोरोना अस्पताल निर्माण र सञ्चालनमा करोडौंको आर्थिक अनियमितता गरेको दावि गरेका छन् ।

खाना–भत्तामा करोडौं खर्च
कास सदस्यका अनुसार डाक्टर र कर्मचारीहरुले खाना–भत्तामा मात्रै लाखौं खर्च गर्ने गरेका छन् । ‘अनियमित रुपमा गरिएको बैठकमा लाखौं स्वाहा गरेका छन्,’ उनले भने–‘पार्टी, मासुभात र भत्तामा लाखा् खर्च गरिरहेका छन् ।’

साथै प्रतिष्ठानमा काम नपरेको बेलासमेत एसी चलाइराख्ने, प्रतिष्ठानका अन्यत्र भएका एसीहरु जथाभावी निकालेर कोभिड अस्पतालमा लगाउने काम भएको तथा पिपिईको पनि चरम दुरुपयोग भइरहेको उनको तर्क छ ।

प्रतिष्ठानमा बिरामीको हेरचाह भन्दापनि पदाधिकारीहरुको ध्यान सकेसम्म बढिभन्दा बढि औषधी उपकरण खरिद गरेर थुपार्ने तथा भवन निर्माण गर्ने तर्फ ध्यान केन्द्रीत भएकोले प्रतिष्ठान बदनाम भएको उनले जनाएका छन् ।

यस विषयमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग मकालु खबरले कुरा गर्न खोज्दा उनीसँग सम्पर्क भएन ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइसोलेसनमा रहेका संक्रमितलाई दैनिक रुपमा चिकित्सकले हेर्न नपर्ने भएपनि प्रतिष्ठानले उनीहरुको खाने बस्ने व्यवस्थापन गर्नुपर्ने बताए । मकालु खबरसँग कुरा गर्दै डा. गौतमले भने–‘घरमा बस्ने ठाउँ नभएर आइसोलेसनमा ल्याइएको हो । खान र बस्नको उचित व्यवस्थापन प्रतिष्ठानले गर्नुपर्छ । यस विषयमा जानकारी लिनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *