‘ओली–प्रचण्ड मिल्नुको विकल्प छैन, पहिलो महाधिवेशन सहमतिमै हुन्छ’

काठमाडौं, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजिक साक्षात्कारमा बोल्दै उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन ।’

ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर इतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने भट्टको भनाई छ । उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने जनाए । ‘सबै एकै ठाउँमा आउनुहुन्छ । र, सहमति हुन्छ । सहमतिको विकल्प छैन् ।’

लेखराज भट्ट, मन्त्री,  उद्योग, वाणिज्य तथा आपूर्ति

आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ । उनले भने,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो ।’ मन्त्री भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे । यद्धपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ । उनले भने,‘हामी महाधिवेशनबाट नेतृत्वपनि सहमतिमै टुँगो लगाउँछौं ।’ मन्त्री भट्टले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे । ‘म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ । र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही । तर, म एकताको पक्षमा छु ।’

उनले पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण बढेकोबारे सरकारको पर्याप्त ध्यान गएको र अब कसरी अघि बढ्ने भन्नेबारे आजै साँझ चार बजे सिसिएमसीको बैठक बस्ने र त्यही बैठकबाट महत्वपूर्ण निर्णय लिईने जानकारी दिए । ‘हिजो हामीले लकडाउन गरेकै कारण कोरोनाबाट हामीलाई बचायो । अहिले जहाँ बढि संक्रमण फैलिएको छ, समूदायस्तरमा कोरोनाको संक्रमण देखिएको हो वा होईन भन्नेबारे स्वास्थ्य मन्त्रालयले अध्ययन गरेर आज प्रस्ताव ल्याउँदैछ, संक्रमणको जोखिम हेरेर ती क्षेत्रमा लकडाउनपनि गर्नुपर्ने हुनसक्छ ।’ उनले भने ।

उनले कोभिड–१९ को संक्रमणका कारण देश गम्भीर मोडमा रहेको र सिंगो देश नै अहिले कोरोनाविरुद्ध लडिरहेको सुनाए । ‘तपाई/हामी सबै कोरोनाविरुद्ध संघर्ष गरिरहेका छौं । कोरोनासँग एक किसिमको लिभिङ टुगेदरको अवस्थामा छौं । नेपालमा तथ्यांक हेर्दा हामी विजयतर्फ उन्मुख भएका छौं ।’

मन्त्री भट्टले पछिल्लो समय तरकारीमा महँगी बढ्नुमा बाढि/पहिरोले गर्दा बाटो/सडक अवरोध हुनु नै मुख्य कारण रहेको बताउँदै यसबारेमा वाणिज्य विभागले विशेष ध्यान दिएको बताए । सरकारले कालोबजारी नियन्त्रणको लागि महत्वपूर्ण काम गरिरहेको उनले दाबी गरे ।

उनले बजार व्यवस्थित गर्ने र गाउँको उत्पादन शहरसम्म ल्याउने र शहरका सामग्री गाउँसम्म पुर्याउने कामपनि सहज रुपमा गर्नेगरि सञ्जाल निर्माण गर्ने कामपनि भैरहेको जानकारी दिए । उनले खाद्यवस्तुमा महँगी बढ्न नदिनेगरि सरकारले काम गरेको विश्वास दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *