भारतलाई नेपालको जवाफ- ‘हाम्रो भूमिमा नेपालीलाई कुनै बाधा नपुर्‍याउनु

काठमाडौं । गुन्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेको भारतीय प्रशासनलाई नेपालले जवाफ दिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएको स्पष्ट पार्दै सो क्षेत्रमा जाँदा नेपालीहरुलाई दुःख नदिन भनेको हो । गृह मन्त्तालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र लेखका हुन् ।

प​रराष्ट्र मन्त्रालयसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जवाफ लेख्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । पत्रमा भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधा-अड्चन नगर्न भनिएको छ ।

‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य-प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ’, इमेलमार्फत पत्र पठाउँदै भारतलाई दिइएकोे जवाफमा भनिएको छ, ‘यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा त्यसमा कहीँकतैबाट बाधा-अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी गराउँछौँ ।’

भारतले केही दिनअघि कुटी, कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्नुपर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई लेखेको थियो । यी क्षेत्र भारतीय भूमि रहेको दाबी गर्दै उसले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्नुपर्नेमा जोड दिएको हो ।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *