दार्चुला प्रशासनलाई भारतको पत्र- ‘कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदिनु’

काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दावी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न आग्रह गरेको हो ।

“विभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट सञ्चारमाध्यमको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् ।” भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा उल्लेख गरिएको छ । ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’ त्यहाँ थपिएको छ ।

विवादपछि नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा।

“चिठी आएको छ । उनीहरुले उल्टै चिठी काटेर त्यस्तै भनिरहेका छन् ।” दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले मकालु खबरसँगको कुराकानीमा भने, ‘चिठी दुई हप्ता अगाडि आएको थियो । अझै यहीँ छ ।’

नेपालले केही समयअगाडि मात्रै कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ ।

धार्चुलाबाट दार्चुलालाई प्राप्त पत्र। श्रोतः।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *